जादूगर नेता
जादूगरले जब गिलासको खोल निकाल्थे, पचासको नोट साच्चिकै गायब भएको हुन्थ्यो.... यद्दपि, तिनीहरुले हजारको नोट भने कहिल्यै निकालेनन
जादूको चाख त मलाई सानै देखि थियो, जतिवेला गाँउका अल्लि ठुला केटाहरु सलाईका बट्टाहरुका जादू देखाउथे । तर प्रत्यक्ष्य रुपमा व्यवसायीक जादूगरका जादू हेर्न भने मलाई निकै वर्षपछि मात्र जुर्यो, जब पढाईको सिलसिलामा जिल्ला सदरमुकाम दमौली पुगे ।
जिल्ला प्रशासन कार्यालय अगाडी केहि मानिसहरु दैनिक रुपमा उहि जादूहरु देखाउथे । अनि प्रशासनमा काम परेर आएका गाँउलेहरुलाई जादू देखाउदै जडिबुटीको धुलो बेच्ने गर्दथे । म पनि समय अनुकुल मिल्यो कि जादू हेर्न पुगिहाल्थे । दोहोर्याई, तेहर्याइ एउटै जादू । जबसम्म तिनीहरुको जादूको रहस्य पत्ता लाग्दैन थियो । एउटा जादूमा तिनीहरु कागजको खोल लगाएको काँचको गिलासलाई घोप्टाएर त्यसभित्र पचास रुपयाँकोे नोट राख्थे, अनि त्यो पचासको नोट गायब गरेर एक हजारको नोट निकालिदिन्छौ भन्थे । जब तिनीहरु घोप्टाएको त्यो काँचको गिलास बाहिरको कागजको खोल निकाल्थे, पचासको नोट साच्चिकै गायब भएको हुन्थ्यो । यद्दपि, तिनीहरुले हजारको नोट भने कहिल्यै निकालेनन्, खाली आश्वसन मात्र दिईरहे।
त्यो जादूको रहस्य के रहेछ भने – काँचको गिलास हेर्दा पारदर्शी जस्तो देखिए पनि बास्तवमा भने त्यो अपारदर्शी रहेछ । गिलासभित्र राखेको नोट बाहिरबाट नदेखिने रहेछ । तिनीहरु कागजको खोल हटाएकै भरमा दर्शकलाई पैसा गायब भएको भ्रममा पार्दा रहेछन । तर गिलास उचालेर भने देखाउदा रहेनछन् ।
काठमाण्डौका सडक किनारामा पनि दमौली जिल्ला प्रशासन कार्यालय अगाडी मैले देखे जस्तै जादूगरहरुको कमि हुदो रहेनछ । यी त अझ खतरनाक हुदाँ रहेछन् । ज्यूदो मान्छेको घाटीमा छुरी रोपेर आलो रगत नै निकालेर देखाउदा रहेछन् । यिनीहरुको मुख्य तरीका भनेको दर्शकलाई भयवित पार्नु रहेछ । जस्तै, जादू नसकिदै प्रर्दशनी स्थल छोडेर गएमा ‘रगत छादेर मर्ने’, ‘घर पुग्नै नपाउने’, आदि इत्यादी । अनि बिच बिचमा दोहोरो अर्थ लाग्ने, उरन्ठेउला शब्दहरुले हाँसोको फोहोरा उठाउदा रहेछन् । यहि भय र हाँसोको बीच आफ्नै हातले कतिखेर खोजीबाट पैसा झिकेर फ्याकेको समेत पत्तो नपाईने रहेछ । हुन त तिनिहरुलाई पैसा दिनुपर्ने लोभले कतिपल्ट पछाडी हट्दै भागियो, तर कहिल्यै रगत छाद्नु भने परेन ।
खासमा जादूको रहस्य जादूगरले प्रयोग गर्ने सामाग्रीमा हुने रहेछ । ति सामाग्रीको प्रयोगमा उसको हातको सफाईले दर्शकलाई भ्रममा पार्न सक्नुमा नै जादूगरको क्षमता हुदो रहेछ, सफलता हुदो रहेछ ।
सडकमा जादू हेरेको यत्तिका वर्षपछि, म सोच्दैछु हाम्रो देश पनि एउटा जादूको प्रदर्शन स्थल पो रहेछ । हाम्रा अदम्य नेता त कुशल जादूगर मात्रै पो रहेछन् । यिनीहरु पनि जनता नामका दर्शकहरुलाई भयवित पार्दारहेछन्, राजतन्त्र फर्कने नाँउमा, अधिनायकबाद उदाउने नाँउमा, भारतीय विस्तारबादको नाँउमा, अमेरिकी साम्राज्यबादको नाँउमा । अनि अनि बिच बिचमा उखान टुक्काले हसाउदा पनि रहेछन् – सडकका जादूगरले जस्तै । यहि भय र हाँसोका विच तपाई हामीले कर तिरेर जम्मा गरेको राष्ट्रिय ढुकुटी रित्तिएको पत्तै नपाँउदा रहेछौ । यिनिहरुको सफलता भनेको आफ्नो चतुर्याईबाट जनतालाई भ्रम छर्नसक्नु नै रहेछ, स्वतन्त्रताको नाँउमा, सर्वहाराको नाँउमा, समृद्धिको नाँउमा, अनि राष्ट्रबादको नाँउमा । हामी जनता चाहि उही दमौली बजारमा जडिबुटिको नाममा चिनी पानीमा मुछेको काठको धुलोको किन्ने र जादु हेरेर मख्ख पर्ने तिनै अबोध गाँउले रहेछौ ।









