धर्मराज-सावित्री थापा प्रतिष्ठानद्वारा लोकसंस्कृति र लोकसंगीतका साधक र संस्थालाई सम्मान
श्रावण १, पोखरा। जनकविकेशरी धर्मराज थापाको १०२औँ जन्मजयन्तीका अवसरमा “धर्मराज-सावित्री थापा प्रतिष्ठान”ले लोक संस्कृति तथा साहित्य पुरस्कार-२०८२ र लोकसंगीत पुरस्कार-२०८२ बाट साधक र संस्थालाई सम्मान गरेको छ। “धर्मराज-सावित्री थापा प्रतिष्ठान”ले आयोजना गरेको उक्त सम्मान कार्यक्रममा गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले धर्मराज थापाले लोकगीतमार्फत नेपालीपनलाई जीवन्त बनाउँदै लोकसाहित्य, संस्कृति र लोकसंगीतको संरक्षण तथा प्रवर्द्धनमा पुर्याउनुभएको योगदानको उच्च प्रशंसा गर्दै कुनै पनि राष्ट्रको वास्तविक पहिचान त्यसको भाषा, साहित्य, संस्कृति र लोकजीवनमा सुरक्षित रहने उल्लेख गर्दै यस्ता अमूल्य सम्पदाको संरक्षण, संवर्द्धन र पुस्तान्तरणमा समर्पित स्रष्टाहरू राष्ट्रका बहुमूल्य सम्पत्ति भएको बताएका छन्।
प्रतिष्ठानका अध्यक्ष मदनराज थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गण्डकी प्रज्ञा–प्रतिष्ठानका कुलपति प्रा. डा. कुशुमाकर न्यौपानेलगायतले धर्मराज थापाको व्यक्तित्व र नेपाली लोकसाहित्य तथा लोकसंगीतमा उहाँले पुर्याउनुभएको अतुलनीय योगदानबारे प्रकाश पारेका थिए।
सो अवसरमा प्रतिष्ठानले लोक संस्कृति तथा साहित्य पुरस्कार-२०८२ बाट विशिष्ट साधक विश्वप्रेम अधिकारी तथा लोकसंगीत पुरस्कार-२०८२ बाट भैरव सांस्कृतिक संरक्षण समिति, पोखरालाई नगदसहित सम्मान गरेको थियो।
कार्यक्रममा साहित्यकार, संगीतकर्मी, संस्कृतिकर्मी, विभिन्न क्षेत्रका व्यक्तित्व तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।








