पेचिलो आन्दोलनको अलमल नेतृत्व अनि मस्त सरोकारवाला

धुमिल सामाजिक तथा राजनैतिक अवस्थामा सहि लक्ष्य, रणनिति र कार्यक्रम तय गर्न सक्ने नेतृत्व आवश्यक छ

वर्तमान एकिकृत राज्यसत्ताको मुल श्रोत हिजो छरिएर रहेको कविला समाज वा रजौटा वा राज्य वा राष्ट्र नै हो । यसलाई ईतिहास र समाज बिज्ञानले स्विकार गरिसकेका छन । जितको अभिमान र हारको अपमान संगै सह-अस्तित्वको रक्षार्थ साझा शत्रुका विरुद्ध मुकाविला गर्नु पर्ने समयको सृजना हुन पुग्यो । उत्तरपुर्वि पहाडको मंगोल/किराँत, पश्चिमका खस/आर्य र दक्षिण तराई मैदानका थारु/मधेशि समुदाय एकाकार हुदै अहंकारि,जहानिय शासकका विरुद्ध पहिलो जनस्तरको राजनैतिक आन्दोलन छेडियो । राजनैतिक दलले जनताको प्रतिनिधि बनि शासनको ऐतिहासिक अवसर प्राप्त गरे ।

 

असक्षम राजनिति अनि साम्राज्यवादी छिमेकि कुटनितिको फन्दामा परि कल्पित शाहि सुन्दर,साझा फुलबारिका फुलहरुको अंकुरण हुन नपाउदै निमोट्ने कदमको शुरुवात भयो । हर्क गुरुङ, गोरे बहादुर खपाङ्गि,सुरेश आले लगायतकाले समुदायगत सवाल, सशक्तिकरण र समावेशिकरणको बारेमा वकालत त गर्दै थिए तर हारको अपमानले शिर सधै झुकाईराख्ने, कहिल्यै केहि कोहि संग नमाग्ने, प्रतिवाद बिना आदेश मात्र स्विकार गर्दै जाने स्थिती बन्यो । सिङ्गो आदिवासी जनजाति समुदाय लगायत राज्यको मुल प्रवाहबाट बहिष्कृतहरु राजनैतिक रुपमा नै सबै समान रुपमा फुल्न पाउने व्यवस्था सहितको बहुदलिय प्रजातन्त्र पुनर्बहालिको पक्षमा आन्दोलित बने । अग्रगमन र परिवर्तनको लागि तमाम दलित, आदिवासी जनजाति, महिला, मधेशि लगायत सम्पूर्णको सहभागितामा सम्पन्न एतिहासिक जनआन्दोलनले व्यवस्थामा परिवर्तन त ल्यायो तर राज्य संयन्त्र स्थिर बन्न सकेन । जनताको प्रतिनिधिको हवाला दिदै सत्तारोहण गरेका दल र तिनका आत्मकेन्द्रित नेतृत्व क्रमश स्खलित हुदै गए र बहिष्कृतहरुको मुद्दामा राजनैतीक जनविद्रोह शुरु भयो । जनजिविकाको सवालमा अनुत्तरित भईरहने, सत्तारोहणको लालसा जगाई रहने र सामाजिक न्यायको आन्दोलन र मागलाई नजरअन्दाज गर्ने प्रवृतिले विद्रोहलाई अन्तन्त युद्धमा रुपान्तरण मात्र गरेन, दोश्रो एतिहासिक जनआन्दोलन, संबिधानसभा हुदै सामन्तवाद र पुजिवादलाई घुडा टेक्न बाध्य बनाई समावेशि लोकतन्त्र सहितको संघिय गणतन्त्र स्थापना गर्‍यो।

 

हरेक खालको न्यायपूर्ण आन्दोलनमा योगदान पुर्याएको अनी राष्ट्रको कुल जनसंख्यामा महत्वपुर्ण हिस्सा ओगोटेको जनजाति समुदायको न्यायपुर्ण माग र मुद्दाको ऐतिहासिकता, आवश्यकता र सघन औचित्यततालाई नजरअन्दाज गरेर जातिय, नश्लिय, विखण्डनकारि, साम्प्रदायिक तथा देशद्रोहि सम्मका लाञ्छना लगाउने बाट जोगाउन पर्ने चुनौती सँगै यो आन्दोलन थप पेचिलो बन्दै गईरहेको छ । निगाहमा बक्स भए जस्तो कोटा वा आरक्षणले क्षति न्युनिकरण त गर्ला तर हाम्रो जस्तो कमजोर मुलुकमा आवश्यक पर्ने सवल नागरिक तयार गर्न सकिदैन । जुन कुरा न सम्बन्धित समुदायको हितमा छ न त सिङ्गो मुलुक कै हितमा । त्यसैले पनि यो बिषय सोचे भन्दा पेचिलो छ । कसैको भाग, अरुले भने जस्तो खोस्ने होइन बरु बराबरको अंशियार बन्ने हो। तसर्थ योग्यता र क्षमताको आधारमा अवसरको ग्यारेन्टि गरिनु पर्दछ भन्ने कुरा सरल भाषामा बुझाउन पनि आन्दोलन पेचिलो छ।

 

विषम जिम्मेवारिको नेतृत्व गर्न पाउनु एक ठुलो अवसर हो । यस्तो समयमा नेतृत्वको कला, कौशल, खुवि र दक्षताले खास अर्थ राख्दछ । खासखास समयमा सबैको योगदानले हिजोको कथित जातिवादि वा सामाजिक / राष्ट्रिय आन्दोलनले एउटा उचाई लिएको छ । निरन्तरताको लागि निरन्तरता नभएर क्रमभङ्गता सहितको निरन्तरता अनि क्रान्तिकारी रुपान्तरण सहितको हस्तान्तरण गर्ने नेतृत्व अहिलेको आवश्यकता बनेको छ।

 

मार्क्सवादि विज्ञान, जसले बिपरित बिचको संघर्ष, एकता र रुपान्तरणको प्रकाशमा अलग-अलग राष्ट्रियताहरुको परस्परमा सम्मान गर्दछ, उनिहरुकै अगुवाईमा आज समाज र समग्र सत्ता रहेको तथा संगठित/असंगठितरुपमा जनजाति नेतृत्व स्थापित हुदै गरेको यस परिस्थितिमा अलमल नगरि नविनतम ज्ञान र अनुभवबाट उत्प्रेरित सृजनशिल नेतृत्वको आवश्यकता छ ।

 

धुमिल सामाजिक तथा राजनैतिक अवस्थामा सहि लक्ष्य, रणनिति र कार्यक्रम तय गर्न सक्ने नेतृत्व आवश्यक छ । क्षणिक लोभमा सिङ्गो आन्दोलनको शौदाबाजिलाई अवसरवादको रुपमा स्विकार गर्ने अनि अनुकुलन क्षमता बिना फगत अविनासको लालसा राख्नेलाई सामन्तवाद र जे छ , ठिक छ भन्नेलाई यथास्थितिवादको रुपमा सुझबुझ राझ्न सक्ने गतिशिल नेतृत्व आवश्यक छ ।

 

यो आन्दोलनको मुल सरोकार वालाले सधैं दिन मात्र जानि रह्यो, कहिल्यै माग्न जानेन । माग्दा,नपाउँदा समेत कहिल्यै रिस,क्रोध र बदला भाव राखेन बरु खुरु खुरु रगत र पसिना बगाएर राष्ट्रिय पुजि निर्माणको सहयोगि बन्न अझै पनि मस्त छ । निरन्तर लगानि गरि मात्र रह्यो तर प्रतिफलमा हिस्सा कहिल्यै मागेन । विज्ञानले संसार विचित्र बनाउदा पनि आफ्नै भाग्यलाई खोटो ठान्दै दिनरात नभनि निरस जीवन जिउनमा त्यो सरोकारवाला मस्त छ । अब मुल सरोकारवाला, त्यो मस्तता बाट सचेतपूर्ण होसमा आउनु जरुरी छ ।

 

यस बाहेक सबैले बुझ्न पर्ने के हो भने – परिवारमा कुनै एक सदस्य कमजोर भयो भने समाज परिवर्तनमा त्यो परिवारको भुमिका गौण हुन्छ । अझ त्यो कमजोर सदस्यले आफु कमजोर रहेको , कमजोरिलाई सुदृढ गर्दै सबल बन्न / बनाउन अन्यले वास्ता नगरेको बुझ्न पायो भने त्यसले परिवारमा दरार मात्र सृजना गर्दैन परिवारको महत्व र अस्तित्वमा नै प्रश्न खडा हुन्छ । फलत समाज अशान्त,अस्थिर र अराजकता उन्मुख हुन्छ।

 

सुन्दा निश्चित नश्ल वा जातको जस्तो पनि लाग्ने अनि अल्पज्ञानिहरुले सुझाएको जस्तो विखण्डनकारि र साम्प्रदायिक कथित पहिचान बनाएको यो राष्ट्रिय आन्दोलनले सचेत सरोकारवाला र जवाफदेहि नेतृत्व मार्फत विभेदयुक्त होइन विबिधतायुक्त सभ्य समाज अनि समृद्द नेपाल निर्माण गर्न सकिन्छ ।

(लेखक, कावासोति-२ नवलपुरका स्थायी बासिन्दा तथा नेपाल आदिवासी जनजाति महासंघ, नवलपरासिका पूर्व सचिव हुन।)