बिनोद चौधरीको उद्योगले ६ सय कर्मचारी कोरोना परीक्षण नगरी घर पठायो – गाउँले त्रसित
६०० कर्मचारी तथा मजदुर मध्य २० जना भन्दा कमको मात्रै आरडिटी बिधिद्वारा कोरोना परीक्षण गरिएको छ भने बाँकी अन्य कसैको पनि परीक्षण गरिएको छैन
नवलपुरको दुम्कौली स्थित गंगा देबी चौधरी उद्योग ग्राममा लकडाउनको अवधिमा कार्यरत ६ सय कर्मचारी तथा मजदुरलाई कोरोना परीक्षण समेत नगरी घर पठाइएको खुल्न आएको छ । घर पठाइएका ६०० कर्मचारी तथा मजदुर मध्य २० जना भन्दा कमको मात्रै आरडिटी बिधि द्वारा कोरोना परीक्षण गरिएको छ भने बाँकी अन्य कसैको पनि परिक्षण गरिएको छैन ।
भारतबाट आउने ट्रकका चालक, सहचालक तथा कामदारहरु सँग सोझै सम्पर्क हुने गरी काम गर्नु पर्दा कोरोना संक्रमणको त्रास बढेको भन्दै चौधरी उद्योग ग्रामका कर्मचारी तथा मजदुरहरु आन्दोलित भएका थिए । लगत्तै उनीहरुलाई शनिबार साँझ घर पठाइएको छ ।
भारतबाट आउने मजदुरहरु सँग सोझै सम्पर्कमा रहेको ति मजदुरहरुलाई अनिवार्य क्वारेन्टाइनमा नराखी घरघर पठाइदिए पछि देवचुली नगरपालिका अन्तर्गतका धेरै वडाका बासिन्दा त्रसित भएका छन ।
केही समय अघी सरकारले जारी गरेको निर्देशिका अनुसार त्यस्ता उद्योगहरु सञ्चालन गर्दा मजदुरहरुलाई अनिवार्य र सुरक्षित रुपमा कारखाना भित्रै क्वारेन्टाइनमा राख्नु पर्ने, मदजुरहरु घरसम्म जान परे घरसम्म सुरक्षित रुपमा कारखानाले नै पुर्याउनु पर्ने लगायतका सर्तहरु पालना गर्नु पर्ने हुन्छ। तर मजदुरहरुले बिरोध सहित आन्दोलन गरेको बाहानामा चौधरी उद्योग प्रशासनले उनीहरुलाई कोरोनाको संक्रमणबाट बच्नका लागि सामान्य सुरक्षा सतर्कता बिनै घर फिर्ता पठाउदा समुदाय नै जोखिममा परेको छ।
देवचुली नगरपालिकाका सम्बन्धित वडाध्यक्षहरुले चौधरी उद्योगमा कार्यरत आफ्ना वडाका बासिन्दाहरुलाई होम क्वारेन्टाइनमा बस्ने कागज बनाएर उनीहरुलाई घर पठाइएको बताए पनि मजदुरहरुलाई यातायातमा घर नछाडी सावधानी बिना पैदलै घर पठाइएको कारण स्थानीयमा भयको बाताबरण बनेको छ।
चौधरी उद्योग प्रशासनले अन्य मजदुरहरु बोलाएर कारखाना भने भोलि देखि पुन सञ्चालन गर्ने तयारी गरेको बुझिन आएको छ । यसको बिरोध गर्दै सामाजिक सन्जालमा पनि स्थानिय बासिन्दाहरुले चौधरी उद्योग प्रशासन र स्थानिय देवचुली नगरपालिकाको कडा आलोचना गरेका छन ।
उक्त गंगा देबी चौधरी उद्योग ग्राम फोर्ब्स पत्रीकामा संसारकै धनी मध्य पर्न सफल ब्यापारी बिनोद चौधरीको हो जहाँ वाईवाई चाउचाउ लगायत उत्पादन हुने गर्दछ । नवलपुरमा रहेको गंगा देबी चौधरी उद्योग ग्रामले फोहर ब्यवस्थापनमा ध्यान नदिदा स्थानिय बातावरण र पर्यावरणमा गम्भिर असर परेको भेटिनुका साथै पटक पटक नक्कली भ्याट बिल जारी गरी राजस्व छली गरेको नेपाल सरकारको छानबिनले पुष्टी गरेको छ।









