माननीय नविना लामालाई विद्यार्थीको खुला पत्र !
तपाईंको पार्टी, तपाईंले पच्छ्याएको गुटले सरकार चलाइरहेको छ । बिद्यार्थीले शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण चाहिँ कुन जुनिमा पाउँछन माननीय ज्यु ?
माननीय नविना लामा ज्यू,
अघिल्लो आर्थिक बर्षको बजेट मार्फत सरकारले शैक्षिक प्रमाणपत्र धितो राखेर बिना ब्याज ऋण दिने घोषणा गरेको थियो ।अर्थमन्त्री डा. युवराज खतिवडाले यसमा स्पष्ट योजना बनिसकेकाले कार्यान्वयनमा आउन समस्या नहुने बताएका थिए । तपाईं लगायत विद्यार्थी नेताहरुले आफ्नो एजेण्डाले सार्थकता पाएको भनेर फेसबुक रंगाउनु भयो । धेरैले धेरै ठाउँमा भाषण दिनुभयो । तर, मेरो सामान्य प्रश्न – कति जानाले पाएछ्न त चालु आर्थिक वर्षमा प्रमाणपत्र धितो राखेर ऋण ? कसैले ऋण पाएर हामीले थाहा नपाएको पो हो कि ?
तपाईं विद्यार्थी नेता । विद्यार्थीहरुको प्रतिनिधित्व गर्दै संघीय संसदमा हुनुहुन्छ । तपाईं सत्तारुढ दलको नेता । त्यसकारण म तपाईं सँग यो प्रश्न राख्दैछु । अघिल्लो वर्ष सरकारले शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने घोषणा गरेपछि तपाईं मात्र नभएर सिंगो विद्यार्थी जगत उत्साहित थियो ।
शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण पाउनु पर्ने माग आफ्नै अगुवाइमा विद्यार्थी संगठनले उठाएको तपाईंको कुरा थियो । त्यो सत्य हो भने सबैभन्दा बढी तपाईं उत्साहित हुनु स्वभाविक हो । तर, यसरी आएको आएको कार्याक्रम कार्यान्वयनका लागि के कस्तो योगदान गर्नुभयो ? बच्चा जन्माएर एक वर्ष वास्ता गरिएन भने के हालत होला ! किनभने तपाईंले मेरै अगुवाईमा आएको एजेण्डा भन्नु – तपाईंको मेहनत हो, तपाईंको सन्तान हो । सन्तानको हेरचाह गर्नुभयो कि भएन ? आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम आउँदै गर्दा यसको समिक्षा गर्नुभए कै होला ।
तपाईंको उपस्थिति सञ्चार माध्यममा देखिएकै छ। मिडियामले पच्छ्याएकै छ । तपाईंको पार्टी, अझ तपाईंले अबिछिन्न पच्छ्याएको गुटले सरकार चलाइरहेको छ । प्रधानमन्त्री केपी ओलीको विरुद्धमा बोल्नु र प्रधानमन्त्री ओलीको विकल्प खोज्नु भनेको आफैं सिद्धिनु हो, भनेर तपाईले मिडियामा बोलेका कुरा भाइरल भइरहेकै छन । यसले सरलत देखाउँछ, तपाईंले बजेटमा आएको कार्यक्रम कार्यान्वयन गराउनमा केन्द्रिय भूमिका खेल्न सक्नुहुन्छ। तर, खै त आफ्नै अगुवाईमा आएको भनिएको कार्याक्रमको कार्यान्वयन ?
नविना लामा ज्यू, मलाई शैक्षिक प्रमाणपत्रका आधारमा सात लाख रुपैंयाँसम्म बिना व्याज ऋण कहिले दिलाउनुहुन्छ ? विदेशबाट फर्किएर स्वदेशकै उद्यम गर्न चाहने युवाहरुका लागि सहुलियतमा १० लाखसम्म ऋण उपलब्ध कहिले गराउनुहुन्छ ? मलाई थाहा छ तपाईंले दिने होइन, तर तपाईले म जस्ता आम विद्यार्थी युवालाई सरकारले बजेटमा ल्याएको घोषणा अनुसारको कार्यान्वयन गराउन भूमिका खेल्न सक्नुहुन्छ । बिद्यार्थीका एजेन्डाले नै तपाईंलाई माननीय बनायो । यो स्वीकार गर्नुहुन्छ नि ! गर्नुहुन्छ भने अब भन्नुस् – बिद्यार्थीले शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण चाहिँ कुन जुनिमा पाउँछन माननीय ज्यु ?
तपाईंकै भाषामा देशमा चरम शैक्षिक बेरोजगारीको अवस्था छ । युवा जनशक्ति खाडी मुलुकहरुमा पसिना बगाउन गएका छन । कोरोना भाइरसको यो महामारीमा स्वदेश आउन पाइरहेका छैनन । यस्तो बेला शैक्षिक जनशक्तिलाई स्वदेशमै रोजगार दिन, स्वरोजगार बनाउन यो कार्यक्रमको कार्यान्वयन प्रभावकारी भए कस्तो हुन्थ्यो ! मेरो अपेक्षा – हातमा शैक्षिक प्रमाणपत्र भएर पनि आर्थिक अभावमा कुनै आर्थिक उपार्जन बिना बसिरहेका लाखौं युवालाई स्वरोजगार बन्ने अवसरलाई व्यवहारिक र सहज रुपमा लागू गराउन यहाँले सकारात्मक दवाव दिनुपर्यो। गुटको राजनीति गरेर आफ्नो धरातल बिर्सन भएन । तपाईंको धरातल विद्यार्थी राजनीति हो ।
आगे हजुरको मर्जी । समानुपातिक माननीय खाइरहने कि निर्वाचित पनि हुने !
उही तपाईंको शुभचिन्तक विद्यार्थी
बिशाल अधिकारी, काठमाडौँ ।









