जर्मनीका नेपालीहरुद्वारा फ्रान्कफर्टको भारतीय कन्सुलेटमा बिरोध ज्ञापन पत्र
भारतीय कदम नेपालको सार्वभौमसत्ता र भौगोलिक अखन्डता माथिको आक्रमण
जर्मनीमा रहेका चार नेपाली संघ-संगठनले संयुक्त रुपमा भारतीय अतिक्रमणको (नेपाली भूमिमा सडक निर्माण तथा उद्घाटन) कडा शब्दमा भ्रत्सर्ना गर्दै भारतीय सरकारलाई बिरोध ज्ञापन पत्र बुझाएका छन।
गैर आवासीय नेपाली संघ, प्रवासी नेपाली एकता मन्च, नेपाली जनसम्पर्क समिति र नेपाली जनप्रगतिशिल मोर्चाद्वारा शुक्रबार १५ मईमा संयुक्त रुपमा जर्मनीको फ्रान्कफर्टमा रहेको भारतीय कन्सुलेटमा बिरोध ज्ञापन पत्र बुझाएका हुन। आगामी दिनमा म्युनिक,बर्लिन लगायत जर्मनीका अन्य शहरमा रहेका भारतीय कुटनैतीक नियोगहरुमा पनि बिरोध ज्ञापन पत्र बुझाउने योजना रहेको नेपाली संगठनहरुका प्रतिनिधिले जानकारी गराएका छन।
बिरोध ज्ञापन पत्रमा “उपलब्ध प्रमाणहरुले कलापानी-लिपुलेक-लिम्पियाधुरा नेपाली भूमि भन्ने प्रमाणित हुँदाहुँदै पनि भारत सरकारद्वारा सडक निर्माण र उद्घाटन हुनुले भारतीय बिस्तारबादी र साम्राज्यबादी चरित्र प्रष्ट भएको र सन १९६२ मा भारत-चीन युद्धमा भारतले भोगेको लज्जास्पद पराजय पस्चात नेपाली भूमि कालापानीमा सेना राख्ने अतिक्रमणकारी कार्यको प्रकृयागत उत्कर्षको रुपमा आएको” उल्लेख छ।
गत बर्ष नोभेम्बरमा ४०० बर्ग किलोमिटर बढी नेपाली भुभाग (कालापानी, लिपुलेक र लिम्पियाधुरा) अतिक्रमण गरिएको भारतीय राजनैतीक नक्सा सार्वजनिक गर्नु र अहिले त्यही नेपाली भुभागमा सडक निर्माण तथा उद्घाटन गर्ने भारतीय कदम नेपाली सार्वभौमसत्ता र भौगोलिक अखन्डता माथिको आक्रमण भएको उल्लेख गर्दै तत्काल नेपाली भूमिमा भारतीय गतिविधि बन्द गर्न माग गरिएको छ।
उक्त बिरोध ज्ञापन पत्रमा, सबै छिमेकी प्रती हेपाहा र मिचाहा भारतीय नितीले अन्तत दक्षिण एसियाको क्षत्रिय शान्ती खल्बल्याउन सक्ने सम्भावना रहेको पनि बताईएको छ।












