पोर्तुगलमा रहेका नेपालीहरुद्वारा भारतीय अतिक्रमणको बिरोध

भारतीय अतिक्रमण नेपाली राष्ट्रिय स्वाधिनता, भौगोलिक अखन्डता र सार्वभौमिकता माथिको बिस्तारबादी प्रहार

 

पोर्तुगलमा रहेका बिभिन्न नेपाली संघ-संगठनहरुले भारतीय अतिक्रमणको संयुक्त रुपमा बिरोध गरेका छन।

 

प्रवासी नेपाली एकता मन्च, नेपाली जनसम्पर्क समिति, नेपाली समाज, नेपाली एकता समाज र नेपाली जनप्रगतिशिल मोर्चा द्वारा जारी गरिएको संयुक्त प्रेस बिज्ञप्तिमा भारतीय अतिक्रमणले नेपाली राष्ट्रिय स्वाधिनता, भौगोलिक अखन्डता र सार्वभौमिकता माथि बिस्तारबादी प्रहार गरेको भन्दै त्यसको कडा शब्दमा भ्रत्सर्ना गरिएको छ।

 

पटक पटक हुने सीमा अतिक्रमणलाई निरन्तरता दिनुबाट भारतीय शाषक वर्गको आफ्ना छिमेकी प्रतीको हेपाहा प्रवृत्ती विश्वसामु उदांगिएको मात्रै नभएर यसले दक्षिण एसियाली क्षेत्रिय सम्बन्धलाई खल्बल्याउन सक्ने खतरा समेत रहेको औल्याउदै नेपाली भूमि अतिक्रमण गर्ने भारतीय कुटिल चाललाई हर तरहले प्रतिकार तथा भन्डाफोर गर्न संसारभरीका नेपालीहरुलाई आग्रह गरिएको छ।

 

संयुक्त प्रेस बिज्ञप्तिमा नेपाल सरकारले सुगौली सन्धी अनुसारको नेपाली नक्सा सार्वजनिक गर्न नागरिक स्तरबाट गरिएको मागलाई सम्मान नगरेको, आफ्नै भूमि भित्र वर्षौँ लगाएर विदेशीले सडक बनाउँदा पनि अनभिज्ञ रहेको अवस्थामा भारतीय अतिक्रमण बिरुद्ध स्पष्ट र कडा कदम उठाउन पर्ने उल्लेख गरिको छ। साथै राष्ट्रिय स्वाधिनता र भौगोलिक अखन्डता माथि हुने हस्तक्षेप बिरुद्ध जनस्तरमा स्वस्फुर्त रुपमा आयोजित प्रदर्शनहरुमा अनावश्यक बल प्रयोग नगर्न समेत नेपाल सरकारलाई आग्रह गरिएको छ।

 

उक्त प्रेस बिज्ञप्तिमा यस मुद्दालाई तत्काल अन्तराष्ट्रियकरण गर्न नेपाल सरकारलाई आव्हान गर्दै नेपाली भुमी अतिक्रमण गर्ने भारतीय नितीमा प्रतक्ष अप्रतक्ष रुपमा सहभागी नहुन जनवादी गणतन्त्र चीन सरकार सँग अपिल पनि गरिएको छ।

 

संयुक्त प्रेस बिज्ञप्तिको पूर्ण पाठ

संयुक्त प्रेस विज्ञप्ति

१२ मई २०२०, पोर्तुगल

नेपाली भूमीमाथि भारतीय हस्तक्षेप बन्द गर।

 

८ मई २०२० मा भारतद्वारा नेपाली भूमि अतिक्रमण गर्दै तिब्बतमा रहेको कैलाश मानसरोवर यात्राका लागि ८० कि.मि. को पक्की धार्चुला-लिपुलेक लिंकरोड निर्माण तथा उद्घाटन गरेको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। यस अगाडी पनि सार्वभौम नेपालको भू-भाग (लिम्पियाधुरा, लिपुलेक र कालापानी) लाई भारतीय सिमाना भित्र गाभेर भारत सरकारद्वारा १ नोभेम्बर २०१९ मा जारी गरिएको भारतीय राजनीतिक नक्साले नेपाली राष्ट्रिय स्वाधिनता, भौगोलिक अखण्डता र सार्वभौमिकता माथि विस्तारवादको नाङ्गो चरित्र प्रदर्शन गरेको सर्वविदितै छ । ऐतिहासिक तथ्य, दस्ताबेज, प्रमाण तथा सन्धिले नेपाली भूमि हो भन्ने प्रमाणित हुँदाहुँदै पनि उक्त भूमिमा सडक निर्माण र उद्घाटन हुनुले लामो समयदेखी भारतले निरन्तर नेपाली सीमा अतिक्रमण गरेको पुष्टी गर्दछ । यस किसिमको भारतीय रवैयाको हामी कडा शब्दमा विरोध तथा भत्सर्ना गर्दछौं।

 

सीमा विवाद समाधानका निम्ति आवश्यक कुटनितिक पहललाई लत्याउदै, विश्व नै कोरोना महामारीबाट अक्रान्त भएको बेला यसको निराकरणको लागि आपसी सहयोग र सामूहिक पहल गर्दै अघी बढ्नु पर्ने कठिन समयमा पनि छिमेकीको भूमि माथि गिद्दे दृष्टि लगाउने भारतीय विदेश नितिको जति नै विरोध गरे पनि कम हुन्छ। पटकपटक यसरी संवेदनशील अवस्थामा सीमा अतिक्रमणलाई निरन्तरता दिनु भनेको भारतीय शाषकवर्गको छिमेकीप्रति गरिने हेपाहा प्रवृति नै हो। त्यसैले भारत र चीन वीच चलिरहेको शैन्य एवं ब्यापारिक प्रतिस्पर्धामा गहिरो भूमिका खेल्न सक्ने सामारिक महत्वको सडक निर्माणका निम्ति नेपाली भूमि अतिक्रमण गर्ने भारतीय कुटिल चाललाई हर तरहले प्रतिकार तथा भन्डाफोर गर्न हामी संसारभरीका नेपालीहरुलाई आह्वान गर्दछौ।

 

यसै सन्दर्भमा नेपाल सरकारले भारतीय अतिक्रमण विरुद्ध कडा र स्पष्ट रुपमा पहल गर्न जरुरी देखिन्छ। सुगौली सन्धी अनुसारको नेपाली नक्सा सार्वजनिक गर्न नागरिक स्तरबाट गरिएको मागलाई सम्मान गर्दै आफ्नै भूमि भित्र बर्षौ देखि विदेशीले सडक बनाइ रहेको यो अवस्थामा नेपाल सरकारले ठोस पहलकदमी लिएर अन्तराष्ट्रीय स्तरमा लैजान अनुरोध गर्दछौ। साथै राष्ट्रिय स्वाधिनता र भौगोलिक अखण्डता माथी हुने सबै प्रकारको हस्तक्षेपको विरोधमा जनस्तरमा स्वस्फुर्त आयोजित प्रदर्शनहरुमाथी अनावश्यक बल प्रयोग नगर्न तथा तत्काल कुटनैतिक पहल गर्दै राष्ट्रिय एकता कायम गर्न नेपाल सरकारलाई आग्रह गर्दछौ।

 

यस मुद्दालाई तत्काल अन्तरराष्ट्रियकरण गर्न नेपाल सरकारलाई आव्हान गर्दै नेपाली भूमि अतिक्रमण तथा उपभोग गर्ने भारतीय नितिमा प्रत्यक्ष,अप्रत्यक्ष रुपमा सहभागी नहुन जनवादी गणतन्त्र चीन सरकारलाई हामी अपिल गर्दछौ।

 

गोविन्द पौडेल, अध्यक्ष – प्रवासी नेपाली एकता मञ्च, पोर्तुगल
नविन आचार्य, कार्यबाहक अध्यक्ष – नेपाली जनसम्पर्क समिती, पोर्तुगल
पूर्ण बहादुर विश्वकर्मा, अध्यक्ष – नेपाली जनप्रगतिशील मोर्चा, पोर्तुगल
सोमफुरी शेर्पा, अध्यक्ष – नेपाली समाज, पोर्तुगल
गोम नाथ सुबेदी, अध्यक्ष – नेपाली एकता समाज, पोर्तुगल