जर्मनीमा रहेका नेपालीहरुद्वारा भारतीय अतिक्रमणको प्रतिरोध गर्न अपिल।

नेपाल सरकारले यस मुद्दालाई तत्काल अन्तराष्ट्रियकरण गरी हर तरहले भारतीय बिस्तारबादी चरित्रको भन्डाफोर गर्न आवश्यक

 

जर्मनीमा रहेका चार नेपाली संघ-संगठनले संयुक्त रुपमा भारतीय अतिक्रमणको बिरोध गर्दै संसारभरीबाट त्यसको प्रतिकार र प्रतिरोध गर्न साथै नेपाल सरकारले यस मुद्दालाई तत्काल अन्तराष्ट्रियकरण गरी हर तरहले भारतीय बिस्तारबादी चरित्रको भन्डाफोर गर्न आवश्यक रहेको बताएका छन।

 

गैर आवासिय नेपाली संघ, प्रवासी नेपाली एकता मन्च, नेपाली जनसम्पर्क समिति र नेपाली जनप्रगतिशिल मोर्चाद्वारा मंगलबार ५ मईमा जारी गरिएको संयुक्त प्रेस बिज्ञप्तिमा नेपाली भूमि भन्ने प्रमाणित हुँदाहुँदै पनि भारत सरकारद्वारा सडक निर्माण र उद्घाटन हुनुले भारतीय बिस्तारबादी चरित्र फेरी एकपटक नाङ्गीएको उल्लेख गर्दै छिमेकी प्रती भारतीय रवैयाको कडा शब्दमा भ्रत्सर्ना गरिएको छ। विश्वनै कोरोना महामारीले अक्रान्त भएको कठिन घडीमा पनि छिमेकीको भूमि माथि गिद्देदृष्‍टि लगाउने भारतीय विदेश नितीको जती नै बिरोध गरे पनि कम हुने भन्दै भारतीय शाषक वर्गको यस्तो प्रवृत्तीले दक्षिण एसियाली क्षेत्रिय सम्बन्ध र शान्तीलाई समेत खल्बल्याउन सक्ने खतरा देखिएको उल्लेख गरिएको छ।

 

संयुक्त प्रेस बिज्ञप्तिमा नेपाल सरकारले भारतीय अतिक्रमण बिरुद्ध कडा कदम उठाउन नसक्नु, सुगौली सन्धी अनुसारको नेपाली नक्सा सार्वजनिक गर्न नागरिक स्तरबाट गरिएको मागलाई बेवास्ता गर्नु, आफ्नै भूमि भित्र वर्षौँ लगाएर विदेशीले सडक बनाउँदा पनि अनभिज्ञ रहनु, भारतीय हस्तक्षेपको बिरोधमा जनस्तरमा स्वस्फुर्त आयोजित शान्तिपुर्ण प्रदर्शनहरु माथी नेपाल सरकारबाट अनावश्यक धरपकड र गिरफ्तारि हुनु जस्ता घटनाहरु निन्दनिय रहेको बताइएको छ। यसै सन्दर्भमा भारतीय हस्तक्षेपको बिरुद्ध तथा राष्ट्रियताको रक्षार्थ भएका र हुने प्रदर्शनहरुमा ऐक्यवद्दता जनाउँदै गिरफ्तार भएकाहरुको अविलम्ब रिहाइको लागि पनि नेपाल सरकारसँग माग गर्दै यस सङ्गिन घडीमा सबै नेपाली एकतावद्द भएर राष्ट्रियताको रक्षार्थ अघी बढ्न अपिल पनि गरिएको छ।

 

संयुक्त प्रेस बिज्ञप्तिको पूर्ण पाठ

 

संयुक्त प्रेस विज्ञप्ति

नेपाली भूमिमाथि भारतीय हस्तक्षेप बन्द गर

१२ मई २०२०, जर्मनी

 

८ मई २०२० मा भारतद्वारा नेपाली भूमि अतिक्रमण गर्दै तिब्बतमा रहेको कैलाश मानसरोवर यात्राका लागि ८० कि.मि. को पक्की धार्चुला – लिपुलेक लिंक रोडको (नयाँ सडक) निर्माण तथा उद्घाटन प्रती हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। यस अघीपनि सार्वभौम नेपालको भूभाग (लिम्पियाधुरा, लिपुलेक र कालापानी) लाई भारतीय सिमाना भित्र गाभेर भारत सरकारद्वारा १ नोभेम्बर २०१९ मा जारी गरिएको भारतीय राजनीतिक नक्साले नेपाली सार्वभौमिकता माथि नाङ्गो प्रहार गरेको सर्वविदितै छ। ऐतिहासिक तथ्य, दस्तावेज, प्रमाण तथा सन्धिले नेपाली भुमी भन्ने प्रमाणित हुँदाहुँदै पनि उक्त भुमीमा भारत सरकारद्वारा सडक निर्माण हुनुले लामो समयदेखी भारतले निरन्तर नेपाली सीमा अतिक्रमण गरेको पुष्टी गर्दै भारतीय बिस्तारबादी चरित्र फेरी एकपटक नाङ्गीएको छ। छिमेकी प्रती यस किसिमको भारतीय रवैयाको हामी घोर भ्रत्सर्ना गर्दछौँ।

 

सीमा बिवाद समाधानका निम्ती आवश्यक कुटनैतीक पहललाई लत्याउँदै, विश्वनै कोरोना महामारी बिरुद्ध आपसी सहयोग र सामुहिक पहल गर्दै अघी बढ्नु पर्ने यस कठिन घडीमा पनि छिमेकीको भूमि माथि गिद्देदृष्‍टि लगाउने भारतीय विदेश नितीको जती नै बिरोध गरे पनि कम हुन्छ। पटक पटक यसरी सीमा अतिक्रमणलाई निरन्तरता दिनुबाट भारतीय शाषक वर्गको आफ्ना छिमेकी प्रतीको हेपाहा प्रवृत्ती पुन: एक पटक विश्वसामु उदांगिएको मात्र छैन, अपितु यस प्रवृत्तीले दक्षिण एसियाली क्षेत्रिय सम्बन्धलाई समेत खल्बल्याउन सक्ने खतरा देखिन्छ। भारत र चीन बिच चलिरहेको शैन्य एव व्यापारिक प्रतिस्पर्धामा गहिरो भूमिका खेल्न सक्ने सामरिक महत्वको सडक निर्माणका निम्ती नेपाली भूमि अतिक्रमण गर्ने भारतीय कुटिल चाललाई हर तरहले प्रतिकार तथा भन्डाफोर गर्न हामी संसारभरीका नेपालीहरुलाई आग्रह गर्दछौँ।

 

यस सन्दर्भमा नेपाल सरकारले भारतीय अतिक्रमण बिरुद्ध कडा कदम उठाउन जरुरी देखिन्छ। सन १८१६ को सुगौली सन्धी अनुसारको नेपाली नक्सा सार्वजनिक गर्न नागरिक स्तरबाट गरिएको मागलाई बेवास्ता गर्नु, आफ्नै भूमि भित्र वर्षौँ लगाएर विदेशीले सडक बनाउँदा पनि अनभिज्ञ रहनु, भारतीय हस्तक्षेपको बिरोधमा जनस्तरमा स्वस्फुर्त आयोजित शान्तिपुर्ण प्रदर्शनहरु माथी अनावश्यक धरपकड र गिरफ्तारि हुनु जस्ता घटनाहरु निन्दनिय छन। भारतीय हस्तक्षेपको बिरुद्ध तथा राष्ट्रियताको रक्षार्थ भएका र हुने प्रदर्शनहरुमा हाम्रो ऐक्यवद्दता रहेको जनाउँदै गिरफ्तार भएकाहरुको अविलम्ब रिहाइको लागि हामी नेपाल सरकार सँग माग गर्दछौँ।

 

नेपाली सिमानामा नंग्रा गाढ्ने भारतीय गिद्दे चरित्रको कडा प्रतिवाद र प्रतिरोध गरी नेपाल सरकारले यस मुद्दा तत्काल अन्तराष्ट्रियकरण गर्दै हर तरहले भारतीय बिस्तारबादी चरित्रको भन्डाफोर गर्न आवश्यक छ। यस सङ्गिन घडीमा सबै नेपाली एकतावद्द भएर राष्ट्रियताको रक्षार्थ अग्रमोर्चामा खडा हुनु प्रमुख आवश्यकता भएकाले त्यसका निम्ती एकजुट भएर अघी बढ्न हामी विश्वभरी छरिएर रहेका सम्पूर्ण नेपालीहरुमा हार्दिक अपिल गर्दछौँ।

 

१. गैर आवासिय नेपाली संघ,जर्मनी
२. प्रवासी नेपाली एकता मन्च,जर्मनी
३. नेपाली जनसम्पर्क समिति,जर्मनी
४. नेपाली जनप्रगतिशिल मोर्चा,जर्मनी