भारतीय अतिक्रमण बिरुद्ध नेपाली जनप्रगतिशील मोर्चा युरोपको अपिल
यस मुद्दालाई तत्काल अन्तरराष्ट्रियकरण गर्न नेपाल सरकारलाई आव्हान, भारतीय नितीमा प्रत्यक्ष,अप्रत्यक्ष रुपमा सहभागी नहुन जनवादी गणतन्त्र चीन सरकारलाई अपिल
युरोपका बिभिन्न मुलुकमा रहेका नेपाली जनप्रगतिशील मोर्चा अन्तर्गतका संगठनहरुले संयुक्त बक्तब्य जारी गर्दै भारतले नेपाली भूमि अतिक्रमण गरी सडक निर्माण तथा उद्घाटन गरेको बिषय प्रती गम्भीर ध्यानाकर्षण भएको जनाएका छन। मई ११ सोमबार जारी गरिएको संयुक्त प्रेस विज्ञप्तिमा भारतको अतिक्रणकारी कार्य र गतिविधिको कडा शब्दमा विरोध तथा भ्रत्र्सना गरिएको छ।
विज्ञप्तिमा भारतको पछील्लो कदम भारतीय साम्राज्यवादको सन् १९६२ देखी नै नेपालको लिम्पियाधुरा, कालापानीमा सैनिक अखडा राख्ने प्रक्रियागत निरन्तरताको एक उत्कर्षका रुपमा आएको र यसमा नेपाली सत्ताधारिको भारतपरस्त तथा आत्मसमर्पणवादी चरित्रले पनि प्रमुख भूमिका खेलेको उल्लेख छ।
नेपाली भूभाग भित्र भारतले सडक र पुल निर्माण गर्दा समेत नेपाल सरकार बेखबर रहेको भन्ने कुरा गम्भीर तथा रहस्यपूर्ण रहेको बताउदै, भारतीय अतिक्रमणकारी कदम र नेपाल सरकारको आत्मसमर्पणवादी निती सार्वभौम नेपालको लागि खतरा रहिआएको हुँदा यी दुवै प्रवृतिका बिरुद्ध प्रतिरोध गर्न सम्पूर्ण देशभक्त नेपाली जनता संग अपिल गरिएको उक्त विज्ञप्तिमा यस मुद्दालाई तत्काल अन्तरराष्ट्रियकरण गर्न नेपाल सरकारलाई आव्हान पनि गरिएको छ। साथै नेपालको भुमी अतिक्रमण र उपभोग गर्ने भारतीय नितीको प्रत्यक्ष या अप्रत्यक्ष रुपमा सहयोगी नबन्न जनवादी गणतन्त्र चीन सरकारलाई अपिल पनि गरिएको छ।
विज्ञप्ति नेपाली जनप्रगतिशील मोर्चा युरोपका अध्यक्ष विष्णु भुजेल, नेपाली जनप्रगतिशील मोर्चा युरोपका महासचिव तथा नेपाली जनप्रगतिशील मोर्चा पोल्यान्डका संयोजक डा. सुवर्ण बाबु सापकोटा, नेपाली जनजाति सरोकार मञ्च बेल्जियमका अध्यक्ष वदन योङहाङ, नेपाली जनप्रगतिशील मोर्चा बेल्जियमका अध्यक्ष मेख गुरुङ, नेपाली जनप्रगतिशील मोर्चा जर्मनीका अध्यक्ष शेरबहादुर तुम्बापो, नेपाली जनप्रगतिशील मोर्चा पोर्चुगलका अध्यक्ष पूर्णबहादुर विश्वकर्मा, नेपाली जनप्रगतिशील मोर्चा स्पेनका संयोजक ईश्वर शर्मा र नेपाली जनप्रगतिशील मोर्चा बेलायतका संयोजक टीएन रिजालद्वारा हस्ताक्षरित छ।
विज्ञप्तिको पुर्ण पाठ
०८ मई २०२० का दिन भारतले नेपालको लिपुलेक हुँदै चीनको सिमाना जोड्ने सडकको उद्घाटन गरिएकोमा हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ । नेपालमाथि भारतीय साम्राज्यवादी हस्तक्षेप निरन्तर भइरहेको छ । भारतीय सरकारले एकतर्फी रुपका दार्चुला जिल्लाको गुञ्जी देखि लिपुलेक सम्म नेपाली भूभागमा करीव २२ किलोमिटर सडक निर्माण गरेको छ । त्यसैगरी नेपालको भूमी गुञ्जी दोभानबाट उत्तरतर्फ नाभी र कुटी सम्म पनि भारतले सडक र पुल निर्माण गरेको छ । भारतीय साम्राज्यवादको यो हर्कत सन् १९६२ देखी नै नेपालको लिम्पियाधुरा, कालापानीमा पनि सैनिक अखडा राख्ने प्रक्रियागत निरन्तरताको एक उत्कर्षका रुपमा आएको छ। त्यसैले भारतको यो अतिक्रणकारी कार्य र गतिविधीको हामी कडा शब्दमा विरोध तथा भ्रत्सर्ना गर्दछौं ।
यसरी आफ्नो भूभाग भित्र भारतले सडक र पुल निर्माण गर्दा समेत नेपाल सरकार बेखबर रहेको भन्ने कुरा गम्भीर तथा रहस्यपूर्ण रहेको छ । यसले विगत देखी नै नेपाली सत्ताधारीहरुको भारतपरस्त तथा आत्मसमर्पणवादी चरित्र रहेको थप पुष्टि गर्दछ । इतिहास देखी निरन्तर भारतीय अतिक्रमणकारी कदम र नेपाल सरकारको आत्मसमर्पणवादी निती सार्वभौम नेपालको लागि खतरा रहिआएका छन् । यी दुवै प्रवृतिका बिरुद्ध प्रतिरोध गर्न हामी सम्पूर्ण देशभक्त नेपाली जनता संग अपिल गर्दछौं। साथै नेपाल सरकारको आगामी कदम के हो, तुरुन्त सार्वजनिक गर्न हामी माग गर्दछौ ।
यस मुद्दालाई तत्काल अन्तरराष्ट्रियकरण गर्न नेपाल सरकारलाई आव्हान गर्दै नेपाली भूमी अतिक्रमण तथा उपभोग गर्ने भारतीय नितीमा प्रत्यक्ष,अप्रत्यक्ष रुपमा सहभागी नहुन जनवादी गणतन्त्र चीन सरकारलाई हामी अपिल गर्दछौ ।

![]()









