सिमानाको लागि लड्यौ भने बलभद्र बन्छौ – कुर्सिको लागि लड्यौ भने दलाल बन्छौ
चिन्ता त अब लिपुलेक, लिम्पियाधुरा, कालापानी, सुस्ता कसरी फर्काउने भन्दा पनी बाकी नेपालको भू-भाग कसरी बचाउने भन्ने भयो।
१५ मे २०१५ मा चीन र भारतले लिपुलेक सम्बन्धित बिवादित सम्झौतामा हस्ताक्षर गरेपछी चुचुरोमा पूगेर बिलिन भएको हाम्रो देशभक्त्ती करिब ५ बर्षपछी लिपुलेकमा सडक बनेर उद्घाटनको रिवन काटिए संगै पुन: जागरित भएको छ। त्यसो त ३१ अक्टोबर २०१९ मा भारतिय बिस्तारबादले लिम्पियाधुरा लगायतको क्षेत्र समेटेर नयॅं नक्सा सार्वजनिक गर्दा पनी नेपालमा देशभक्तहरू बाघको मूखबाटै लिपुलेक थुती ल्याउला झै गर्दै थिए।
हामीले बिर्सेका थियौ लिपुलेक अस्ती नै भारतले लुटेर लागि सकेको हो भनेर, हिजो त उसले सिंगारेको मात्रै हो। जब जब सिमाना लुटिन्छ, बुटले कुचिन्छ हामी सुने झै गर्छौ, उठे झै गर्छौ, जागे झै गर्छौ तर अन्त्यमा मौन भएर हार स्विकार्छौ। कालापानी, सूस्ता, टनकपूर, सन्दकपुरको लागि लड्दा लड्दै लिपूलेक, लिम्पियाधुराहरु कहिले सम्म गुमाईरहने हामीले ?
लगभग १७०० किलोमिटर लामो नेपाल भारत सिमामा करिब ६० हजार हेक्टर क्षेत्रफलमा सिमा बिबाद कायम छ। कालापानी क्षेत्रमा त भारतीय सेनाले खुलेआम नामर्द नेपाली हो भनेर गिज्याको दशकौ बितिसकेछ।
१७ नोभेम्बर २०१९ मा नेपालका प्रधानमन्त्रीले लिम्पियाधुरा लगायत कालापानी नेपालको हो, नेपालको रहनेछ भनेको करिब ५ महिनामा ब्वासो चरित्रको छिमेकी भारतले लिपूलेकमा सडक बनाउदै उद्घाटन गर्यो। ठट्यौली रुचाउने प्रधानमन्त्रीको बोली ठट्ठा कती र सिमा प्रतीको गहिरो लगाव कती अब भनी रहनु नपर्ला । अझ उनले बोले लगत्तै फिर्ता आईहाले झै गरेर बजेका आसेपासे हनुमान र मरिचीका ति गडगडाहट थप्पडी आज जिन्दावाद भन्छन कि मुर्दाबाद हेर्न चाही बाकि छ। त्यसो त केही समय अघि हेलिकप्टरबाट सवार रक्षामन्त्रीले पनी लिपुलेकमा बन्दै गरेको सडक देख्नू भएनछ। या नदेखे जस्तो गर्नु भयो।
नेपालका परराष्ट्र मन्त्री भन्दै हुनुहुन्थ्यो भारतले बङ्लादेश संग सिमा विवाद मिलाउन सक्ने नेपाल संग किन नसक्ने। यो भन्दै गर्दा ताली बजाउने ती कमरेडहरू आज बङ्लादेशले भारत संगको सिमा विवाद मिलाउन सक्ने नेपालले किन नसक्ने भनेर प्रती प्रश्न गर्न योग्य भए कि भएनन ?
हुन त शासकहरूलाई टेबलको स्थान र रङ अनी आफ्ना स्वार्थको सिमा मिलाउनै फुर्सद छैन। देशको सिमाको के खबर होला र कोरोनाको महामारीमा आ-आफ्नो कुर्सीको देउडा गाई बस्नेलाई। जुगाको रेखी उखाल्दा पनी नदुख्ने, थाहा नपाउने कस्तो कुम्भकर्ण ब्यवस्था छ हो हाम्रो ? ऋण गरेर छानेको शासक के को लागी ? ऋण गरेर पालेका सेना-प्रहरी के का लागी ? ऋण गरेर पालेका कर्मचारी के का लागी ? हिसाब खोज्ने बेला भएन र मरीचि अनी हनुमान कमरेडहरू ?
अली अस्ती लिपुलेक भन्दै करायौ। अस्ती लिम्पियाधुरा भन्दै करायौ। कालापानी, सुस्ता भन्दै कराएको कती भो कती। हाम्रो हैसियत कराउने मात्र हो ? चिन्ता त अब लिपुलेक, लिम्पियाधुरा, कालापानी, सुस्ता कसरी फर्काउने भन्दा पनी बाकी नेपालको भू-भाग कसरी बचाउने भन्ने भयो। राजतन्त्र-प्रजातन्त्र, पञ्चायत-बहूदल र गणतन्त्र कुनै पनी तन्त्रले नेपालको सिमा रक्षा गर्न नसक्ने ? संबिधान र सासन देशको सिमा जस्तो संबेदनशिल बिषयमा कसरी मौन रहन सक्छ ? पटक्कै नबोल्ने यो ब्यवस्थाले कसको नुन खाएको छ – नेपाली जनताको कि भारतको ?
हामी दासि मानसिकताबाट कहिले माथी उठ्ने ? १९५० को नेपाली भू-भाग भारतले मान्दैन, भने १९५० को संन्धी हामीले किन मान्ने ? अहिले नबोले कहिले बोल्ने ? आज नबोले कहिले बोल्ने ? कालापानी फिर्ता गर्छु भनेर लिपुलेक र लिम्पियाधुरा बुझाउने ट्रोजन हर्सहरु कहिले सम्म अभिवादन र सलाम गरिरहने ?
अवसर सबैलाई प्राप्त हुँदैन। सिमानाको लागि लड्यौ भने बलभद्र बन्छौ। कुर्सिको लागि लड्यौ भने दलाल बन्छौ। पुर्खाले छाडेके देश आउने सन्ततीलाई सकुसल सुम्पन सक्दैनौ भने पासो लागेर मर, ईतिहासले तिम्रो राजनैतीक नपुन्सकतालाई माफी दिनेछ सायद।









