जयशंकरको नेपाल भ्रमण र नाकाबन्दीको सम्झना
विचार
संसारको कुनै कुनामा पनि “सिआईए”, “र”, “मोसाद” सँगको सहकार्यमा क्रान्ति भएर समाजवाद आएको ईतिहास छैन। आफुलाई कम्तिमा समाजबाद उन्मुख भन्ने मुलुकहरुले नाकै मुनी आएको सामराज्यबाद सँग भीषण लडाईं लडेका छन। तर नेपालमा भने तिनै खुफिया एजेन्सी र तिनका मालिकको ईशारामा अनी सहकार्यमा आदी काल देखी लगातार समाजबाद उन्मुख क्रान्ति जारी छ। अर्थात भारतीय पुजीको एकाधिकारको बिरोध पनि छैन नाटो केन्द्रित राष्ट्रहरुको सामाजिक सान्स्कृतिक अतिक्रमणको प्रतिकार पनि छैन तर क्रान्ति भने जारी छ।
प्रजातन्त्र वा समाजबादका निम्ती या फेरी माओ वा आदर्श नक्सलाइट हुन हिंडेका थुप्रै योग्य युवाहरु अन्जान मै अन्तत “सीआईए”,”र” अनी मोसादको राजनैतीक एजेन्डा बोकेर ट्रोजन हर्समा रुपान्तरण हुन पुगेका छन। सुगौलि सन्धि मार्फत अङ्रेज सरकारका रेसिडेन्टले काठमाडौमा बसेर नेपालको राजनितिलाई आफ्ना बफादार दलालहरुको पुनरुत्पादन केन्द्रको रुपमा प्रयोग गरेर सुरु भएको थियो ट्रोजन यात्रा। अङ्रेजहरुले योजनाबद्ध रुपमा छानेर स्थापित गरेका ‘नेहरु’ ले हस्तक्षेप गरेर उनकै योजनामा ल्याण्ड गरेको ००७ सालको सम्झौताले पनि नेपालमा भारतिय ‘स्थापित’ सस्थापनको बिश्वासपात्रको सुनिश्चिततालाई निरन्तर गर्दै भारतीय पुजीको एकाधिकार अनन्तकालसम्म अनुरक्षति गर्ने षडयन्त्र बोकेको थियो। आफुले देख्दै नदेखेको पढ्दै नपढेको – कुनै गाउको कैफियती साहु बा को कपाली तमसुक जस्तो दिल्ली सहमतीमा हस्ताक्षर गर्न श्रेष्ठ भनिएका विद्वानलाई – दिल्ली दाहिना भए पछी नेपालमा निर्बिकल्प भईन्छ भन्ने भ्रमले उग्र बनाएको हुन पर्छ। पुर्बी पाकिस्तान स्वतन्त्र हुनु उसको अधिकार हो भनी रहदा सिक्किम बिलयले झसँग भएर मेलमिलापको निती अघी आए पनि, हामीले नभुलौ – भारतीय खुफिया एजेन्सी “र” का संस्थापक प्रमुख काओलाई “प्रजातन्त्र” का नाममा सहयोग खोज्दै भेट्ने पहिलो नेपाली बिराटनगर तिरका कोइराला थिए। यही भेटको उन्नत निरन्तरता थियो चाक्सीबारीमा चन्द्रसेखर, अनी ४६ साल। सन १९८९ को मध्य तिरका न्यु योर्क टाइम्समा प्रकासित आलेखहरुले प्रस्ट्याउछन ४६ को नाकाबन्दीमा भारतीय स्वार्थ के थिए । ५२ पछी उता “थाकरण” को मेजमानी, यता “चे गुएभारा” हुने सपना बोकेका कार्यकर्ता “र” को एजेन्डाका भरिया। फलत क्रान्तिले गणतन्त्र ल्यायौ भने पनि मन अमिलो गरेर “श्याम शरण”,”मुखर्जी” र “थाकरण” लाई गणतन्त्रका पिताका रुपमा लिनु पर्छ, जसले १२ बुदेको गलगाण झुन्डाईदिए। अर्थात – उताको स्वार्थ पुर्ती हुँदा सम्म यताको सत्तामा जो सुकै होस सरोकार भएन, स्वार्थमा आच आउने देखियो भने – राणाको बिरुद्ध काङ्रेस, काङ्रेसको बिरुद्द राजा, राजाको बिरुद्द काङ्रेस र कम्युनिष्ट, हत्याकान्ड, अरु सबैका बिरुद्द तराइ आदी मार्फत दलाल उत्पादन र सन्तुलन। यस्तो चक्र बल्ल बुझिदै छ र यसलाई क्रमभङ गर्न जरुरी छ।
पुर्बी पाकिस्तानको मुक्ती बाहिनी, सिक्किमको त्यो निर्वाचन, भुटानको कथित सार्वभौमिकता, श्रीलन्काको तामिल आन्दोलन, माल्दिभ्सको अपरेसन क्याक्टस, पाकिस्तानको बलुच आन्दोलन, अफगानिस्तानमा पाकिस्तान बिरोधी सकृयता – अनी लगभग सम्पूर्ण छिमेकी सँगको तिक्ततापूर्ण सम्बन्ध। पुराना र अधिकान्स लेखमा दोहरिने भए पनि यिनले भारतीय हेगेमोनीको गुदी प्रस्ट्याउछ।
भर्खरै स्वतन्त्र काश्मिर र भारत बिचको सम्झौता जनअनुमोदन बिना एकतर्फी रद्द गरेर भारतले प्रजातन्त्रको पर्दा पछाडि रहेको उसको भयानक अनुहार देखाएको छ। भारत नियन्त्रित काश्मिर उपत्यकामा ३ प्रतिशत भन्दा थोरै मतदान हुने क्षेत्र पनि रहेछन, बितेको २ हप्ता भन्दा अघी देखी फोन, इन्टरनेट काटिएको छ, प्राय कर्फ्यु छ, भेला हुन प्रतिबन्द छ, मस्जिदहरु बन्द छन, स्कुलहरु बन्द छन, खुलेका स्कुलमा भयका कारण विद्यार्थी आएका छैनन, दैनिक काश्मिरको स्वतन्त्रताका निम्ती प्रदर्शन हुँदै छन, प्रदर्शनकारीलाई पेलेट गन दागिएको छ, गिरफ्तार हुने डरले घाइते अस्पताल जान सकेका छैनन। सन २०१८ मा मात्रै १५० धेरै सर्वसाधारण सहित ५५० भन्दा बढी मानिस मारिएको काश्मिरबारे भारतीय बिदेशमन्त्रालय विश्वभरी भन्दै छ काश्मिर शान्त छ, “गाजापट्टी”को जस्तो नियतीमा काश्मिरी खुशी छन। हामीले बिर्सिनु हुन्न यो त्यही भारतिय बिदेश मन्त्रालय हो जसले पछील्लो पटक २०१५ मा आँफैले हुर्काएका नेपाली दलालहरुले उसले भने अनुसार नगरिदिएको भन्दै नेपाल माथि लादिएको आमनबिय र क्रुर भारतीय नाकाबन्दी स्विकारेको थिएन। यो त्यही बिदेश मन्त्रालय हो जसले नेपाल र नेपाली बिरुद्ध संसारै भरीका प्लेट्फर्म प्रयोग गरेको थियो। यो त्यही बिदेशमन्त्रालय हो जसको बाग्डोर नेपाल र नेपाली बिरुद्दको नाकाबन्दीका प्रमुख योजनाकार, सुब्रहमण्यम जयशकरले सम्हालेका छन र उनी फरक भूमिकामा नेपाल आउँदै छन।
नकाबन्दीका क्रुर योजनाकार जयशंकरको आगमन पूर्व – तराइलाई काश्मिर हुँदै गरेको भन्ने डिस्कोर्स र भय जबर्जस्ती थोपर्न खोज्न “सारोस बन्धुहरु” – विस्मित मौन छन। सिमानामा उभिएर नाकाबन्दी भारतले गरेको होइन भन्ने “उत्तरआधुनिक बन्धुहरु” कामकृत मौन छन। बाँकी प्राए क्रान्तिकारी र प्रजातान्त्रिक बन्धुहरु ००७ साल देखीको भारतीय लगानीको बोझले थिचिएर ऋणमय मौनतामा छन। काठमाडौंमा यस्तै मौनता ब्याप्त थियो “क्रिमिया” बिलय हुँदा। अर्थात काश्मिरमा सबै ठीक छ, प्रजातन्त्र छ, किनभने त्यहा भारत छ। अर्थात मौनताको बादलामा जेएनयुको छात्रब्रित्ती छ, अशोकाको प्लेनम छ, फोर्टिसको उपचार छ – नत्र दाँया बाँया भयो भने काठमाडौंको मध्यमा जमिम शाहको नियतीले पर्खि रहेको छ। तर वाध्यता स्वयम बधुवा हुन चाहनेको मात्रै हुन्छ, ३ करोड सबैको हुँदैन।
भारतिय विद्वानहरु अक्सर काठमाडौंमा प्रश्न गर्छन् – समान धर्म र मिल्दो जुल्दो संस्कृति भएर पनि नेपालमा भारतको बिरोध किन हुन्छ? यसको सरल जवाफ छ – अफगानिस्तानमा पाकिस्तानको बिरोध किन हुन्छ आखिर दुबै मुस्लिम राष्ट्र हुन। युरोप भरी लगभग क्रिश्चियन भएर पनि अनगिन्ती मुलुक किन भए, अनगिन्ती युद्द त्यही किन भए ? दक्षिण अमेरिकामा अमेरिकाको बिरोध किन हुन्छ ? अजय भनिएको सोभियतका आफ्नै सेटेलाइट देशहरुले सोभियतलाई किन मानेन ? किनभने – मुलुकहरु दाईभाई हुँदैनन, मुलुकहरु सार्वभौम हुन्छन, त्यसैले समान हैसियतमा हुन्छन। समयले ९० को दशक काटेर अघी बढी सक्यो, जेएन्यु र बनारस हिन्दूबाट बाटो अक्स्फर्ड, क्याब्रिज, याले पुगिसक्यो तर यो कुरा उपनिबेशले सयौ बर्ष डामेको,क्रान्ती बिना स्वतन्त्रता पाएको भारत र भारतीय डेमोक्रेसीले बुझ्दैनन।
काश्मिरमाथि आफ्नो बेइमान पञ्जा गाड्नुभन्दा केहि समय अगाडी भारतिय जनता पार्टिको बिदेश बिभागका प्रमुखले काठमाडौंमा पत्रकारहरुसग भनेका थिए “भारत अब असंलग्न राष्ट्रको रुपमा रहेन । भारत शक्ति राष्ट्र हो । उसले आफ्नो बिदेशनिति यसै अनुसार संचालन गर्छ ।”त्यसको केहि हफ्तामा संसदमा बोल्दै प्रतिपक्षि दलका एक नेता प्रदिप गिरिले भने “भारतले सकेको दिन नेपाललाई सिक्किम बनाउछ,त्यो वेला तपाई के गर्न सक्नुहुन्छ ? ” ,काश्मिर मामला र पछिल्लो सन्दर्भलाई समेटेर नेपालका परराष्ट्र मन्त्रिले पत्रकारहरुसंग भने ‘नेपाल भारत सम्बन्ध उत्क्रिष्ट छ’,’प्रदिप गिरिले त्यस्तो बोल्न सुहाउदैन !’, ‘काश्मिर मामलालाई हामीले नजिकबाट हेर्दै छौ !’ हाम्रो ब्यापारघाटा र त्रासमा अडेको बिदेशनितिको आलम्ब भारतबारे हाम्रो बुझाईलाई नेपाली राजनितिक बजारका यिनै समाचारले धेरै हदसम्म खुल्ला झ्याल प्रदान गर्छन। यस्तो परिबेशमा दोश्रो पटक नेपाली भुमी टेक्दै गरेका, जयशंकरलाई अझै पनि लाग्दै होला केही थान एम्बुलेन्स, छत्रब्रित्ती अनी जमिम नियतीको भयले नेपाल धानिन्छ।
जयशंकरलाई सरकारले कालो झन्डाले स्वागत त नगर्ला तर कसैले मिठो लयमा बुझाईदियोस – समय धेरै पर पुगी सक्यो। अनावश्यक ठुलो दाजु हुन खोज्ने अमेरिकालाई ईरानी विद्यार्थीहरुले नोभेम्बर ४, १९७९ मा सिकाएको पाठ सर्वत्र अध्ययनका लागि उपलब्द छ र थुप्रै नेपालीहरुले त्यसलाई “नोटिस” गरिसकेका छन – भारतीय बिदेश मन्त्रालयले सन २०१५ को नाकाबन्दीमा नेपाल बारे पटक पटक “नोटिस” गरे जस्तै।
दुनियामा “अन्धराष्ट्रवादको हावा” चलेको बहाना देखाई दबाईएर राखिने हस्तक्षेप बिरोधि अवाज आजको युगमा मौन रहदैन। नेपाली भुमिमै पसेर मारिएका भिमदत्त पन्तका अवाजहरु यहि धरामा कतै जिवितै छन। आजको युगमा भिमदत्तका आवाजहरु आफ्नो हजारौ गुणा तागत सहित आकाशमा आइदिन्छन। मिस्टर जयशंकर ! काठमाडौका होटेलमा बन्द कोठाभित्र धनुष्टंकार हुदै गरेका केहि थान अनुहारलाई ‘आश र त्रास’ देखाएर कज्याए जस्तो लागे पनि, केहि थान ‘रोटि-बेटि रैति’ को नमस्कारमा आँफैलाई दैव देखे पनि – देश/दुनियाभर कठिन श्रम गरेर आफ्नो मुलुकलाई ढल्नबाट बचाउने वास्तविक नेपालको आत्मालाई तिमि र तिमिले बोकेको हेपाहा नितिले पराजित गर्न सक्दैन। एक्काइशौ शताब्दिको युद्ध मानिने नाकाबन्दि र हस्तक्षपको अगुवा अनी भारतीय पुजीको एकाधिकारका प्रतिमुर्ती तिमीलाई हाम्रो नेपालमा खुल्ला हृदयले स्वागत छैन !
* यस अघि www.onlinekhabar.com मा प्रकाशित यस सामग्री लेखकबाट पुन सम्पादन सहित www.sancharvoice.com लाई प्राप्त ।









