घुम्टो उघार्दै ‘लेब्लु’ !
“My heart aches, and a drowsy numbness pains
My sense, as though of hemlock I had drunk,
Or emptied some dull opiate to the drains
One minute past, and Lethe-wards had sunk”
बिहानै पानि परेर चिसो समयमा मित्र भुवन गुरुङ्ले मोबाइलमा रहेको कविता संग्रहको ‘एप्लिकेसनमा’ रहेको जोन किट्सको ‘अड टु निटिङ्गेल’ का हरफहरु पढ्दै ब्युझाउनुभयो लगभग २५०० मिटर उचाईमा रहेको सोलुखुम्बुको नेचासल्यान-१ मा पर्ने यौटा ‘दुर्गम’ शेर्पा गाँउ लेब्लुको यौटा घरमा । एकाएक बदलिएको मौसमका कारण चैत्र महिनामै परेको बर्षाले बढेको जाडो र जाडोमा बिस्तारै बिस्तारै ब्युझिदै गरेको यौटा लेकाली गाँउ । कामको बोझका कारण हुनसक्छ सायद उमेरभन्दा अलि बुढ्यौलि लागेझै लाग्ने ‘शेर्पिनि दिदि’ ले दिनुभएको ‘सु चिया(नुन चिया)’ संगै हाम्रो पनि बिहानीको दिनयात्रा शुरु भयो ।

“हाम्रो आलु खेतिले बजार पाएन,गाडीमा हालेर लैजाने हो भने इण्डियन आलुभन्दा महंगो हुन जान्छ। हाम्रोमा त आलुमात्र फल्छ ।”शेर्पिनि दिदिले फेरिदो अवस्थालाई छोटकरिमै पुरा बताउनुभयो । उहाका कुरामा डोकोमा बोकेर आलु बेच्न हाटबजार गएका,गरिबिमा हुर्कनुपरे पनि आत्मनिर्भर समयका सम्झनाहरु रमाइला रुपमा आइरहन्थे ।
स्थानीय तहको निर्वाचन पश्चात स्थानीय सरकारले बजेटको ब्यबस्था गरे पछि पहिलोपटक यस क्षेत्रले मोटरमा चढेर बाहिर जाने मौका पाएको छ । भर्खर खुलेका मोटरबाटो संगै मानिसहरुका ठुला ठुला अपेक्षा थिए तर मोटरहरुले त यहांका काठ ढुंगा बोकेर लैजान्छन । अनि वोतलमा मदिरा, तयारी खानेकुरा र गुणस्तरहिन भारतिय चामल ल्याउछन ।
जंगलभरि थरिथरिका गुराँस फुलेका छन । जैविक बिबिधताले यौटा ‘खुल्ला र बिशाल’ पुस्तकालय जसरी स्वागत गरिरहेका छन । लामो समय अफ्रिका बसेर घुम्दै घुम्दै नेपाल आइपुग्ने ‘बसन्त ऋतुको संगीतकार’ कोइलिका आवाजहरु वातावरणलाई थप रोमान्चित बनाइरहेका छन ।

मध्यान्हमा बर्षा रोकिएपछि हाम्रो यात्रा शुरु भयो अझै माथि रहेको ‘जिम्बिर’तर्फ । युरोपबाट सिकेर हाल बजार चर्चामा आउन थालेको ‘किवि फल’भन्दा मिठो र धेरै फल्ने जंगलि किवि (जसलाई स्थानीयहरुले ठेकिफल भन्दारहेछन),लौठ सल्ला,अर्घेलो,नुनढिकि,सुनाखरीजस्ता बोटमै ‘डलर’ फल्नसक्ने सम्भावनाहरुलाई वरिपरि देख्दै हामी चरम अभावमा हुर्केका बस्तीहरु तिर लम्कदैछौ ।गाँउका अधिकांश युवाहरु बिदेशमा छन ।प्रायःजसो घरहरु महिलाले एक्लै सन्चालन गरेका छन। प्रम्परागत शेर्पा पहिरन र संगीतलाई बिस्तारै’काठमाडौं मुलधार’का परिवर्तनहरुले गाज्दैछन । डाँडाको गोठमा झुण्डिएको रेडियोमा बजिरहेको सुनिन्छ “……..गोजिमा सुको नहुने मान्छे केहि पनी काम छैन…..” ।

गाँउको सिरानमा रहेको परम्परागत शेर्पा शैलिको सुन्दर घर भुकम्पले नराम्रो गरी हल्लाईदिएको छ ।यहाँका प्रायः ढुंगाले बनेका घरहरु चर्किएका छन तर ‘प्राबिधिक मुल्यांकनमा’ धेरै जसोलाई आंशिक क्षतिमा राखिएको छ । अर्को आनो धक्कामै लड्ने अवस्थामा रहेका संरचनालाई कंक्रिट संरचनाको मापदण्डमा राखेर क्षतिमा नगन्ने अचम्मको मापदण्ड छ यहाँ । भुकम्प पछि काठको घर बनाएर सरेका शेर्पा परिवार बुढा भईसकेका ससुरा,बुहारीर नातिनि बस्छन यहाँ । उमेर भएका जति सबै खाडितिर छन । बिध्यालयमा पढ्दाको ‘म्याडम क्युरि’को तस्विरको मुस्कानजस्तै लाग्ने मुस्कान भएकि सानी नानी पासाङ ल्हामु दुई घण्टा पैदल हिडेर जंगलको बाटो बिध्यालय जान्छिन ।ओ हो ! यत्रो उचाईमा बसेका मान्छेहरुलाई सपना र चेतनाको कत्रो पर्खाल !
“बैनि तिमिनै हो त हिमाल चढ्ने पासाङ ल्हामु?” लजाउदै लुक्न जान्छिन उनि !
हाम्रो यात्रा सोझिन्छ गुँरासले रंगिन बनाएको जंगलको बाटोहुदै सुन्दर डाँडा ‘तिल्पुङ’तिर । यहाँ एकजना युवाले आध्यात्मिक केन्द्रको विकास गर्ने अभियान समेत चलाएका छन । बिगत दशकसम्म हिउदका दिनहरुमा प्रायःदिनहरु हिउले भरिने तिल्पुङ डाँडा अहिले अनियमित रुपमा यदाकदामात्र हिउले भरिन्छ । स्थानीयहरुको भनाई अनुसर राणाकालमा काठमाडौंको बिजुलिको उज्यालो यहांबाट प्रषट देखिन्थ्यो । आजपनि पर्यटनको विकासको कोणबाट यो ठाउलाई विकास गर्नेहो भने सगरमाथा लगाएत सयौ हिमालहरु सबै उमेर समुहका मानिसले सहजै देख्न पाउने अवस्था सिर्जना गर्न सकिन्छ ।यसले यो ठाउलाई यौटा अवसर प्रदान गर्न सक्छ ।

बिस्तारै दिन ढल्कदै गयो । हाम्रो यात्रा पनि सडक,बिध्युत,ब्यबस्थित खानेपानी पुग्न बाकीरहेको राज्यको आँखामा ‘भोट’मा मात्र पुगेको बस्ति ‘टुहुरे’ हुदै जंगल र भिरको बाटो तल झर्यौं । अभावका पीडादायी अवस्था र आनन्द/खुशिका दुर्लभ मुस्कानहरु बिचमा अपार सम्भावनाको दृष्य हेर्दै ‘टारी बेसि’ आइपुग्ने बेला साथी कुमार कटेल (विद्यार्थी संगठनका जिल्लास्तरिय नेता) भन्नुहुन्छ ” यो भेगको कर्णाली भनिनेगरेको लेब्लुले ‘घुम्टो’ उघार्दैछ ” ।









