जेनजी आन्दोलनमा देशभर मृत्यु हुनेको संख्या ५१ पुग्यो

ज्यान गुमाएका व्यक्तिहरूको शव पोस्टमार्टमपछि परिवारलाई हस्तान्तरण गर्न सुरु

भदौ २७, काठमाडौँ । जेनजी प्रदर्शन र आन्दोलनमा अहिले सम्म देशभर ५१ जनाको मृत्यु भएको पछिल्लो अपडेटमा जनाइएको छ, जसमध्ये तीन जना प्रहरी र ९ जना कैदीबन्दी रहेका छन्। ठुलो संख्यामा घाइतेहरूको देशका विभिन्न अस्पतालहरुमा उपचार भईरहेको छ। ज्यान गुमाएका व्यक्तिहरूको शव पोस्टमार्टमपछि परिवारलाई हस्तान्तरण गर्न पनि सुरु गरिएको छ।

भदौ २३ गतेको भ्रस्टाचार, बेरोजगारी,अनियमितता, सामाजिक संजालमा रोक लगायतका मागहरु सहित विरोध प्रदर्शनमा उत्रिएको जेनजी पुस्ताले करिब २७ घण्टा नबित्दै सत्ता पुर्णरुपमा ढाल्न सफल भएको थियो। विरोध प्रदर्शनमा राज्यको तर्फबाट भएको दमन र एक्कै दिन १५ जना बढीको ज्यान जाने गरि भएको ठुलो मानवीय क्षतिको कारण २४ गते जेनजी पुस्ता आक्रोशित भएर देशभर एकसाथ सडकमा निस्किए र ठुलो बिरोध प्रदर्शन र आन्दोलन भयो, त्यस क्रममा संसद भवन, राष्ट्रपति भवन, सर्वोच्च अदालत, सिंहदरवार, सरकारी मन्त्रि आवास, नेताका घरहरु सहित धेरै भौतिक संरचनाहरु पनि आगजनी सहित ध्वस्त भए । परिणामस्वरुप मंगलबार दिउँसो करिब साढे दुई बजे केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिए। त्यस पछि राष्ट्रपति रामचन्द्र पौडेल र प्रधान सेनापति अशोकराज सिग्देलले जेनजी पुस्तालाई वार्ताका लागि आह्वान गरेका छन् । शुक्रबार बिहानको पछिल्लो अपडेट अनुरुप जेनजी पुस्ताहरू बिच अब अगाडी कसरी बढ्ने भन्नेबारे छलफल गर्दै पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीलाई आफ्नो प्रतिनिधिका रूपमा कार्यकारी प्रमुखको भूमिकामा अघि सारेका छन्।

त्यस्तै नेपाली सेनाले बिहिबार साँझ सम्मको पछिल्लो सुरक्षा परिस्थितिको विश्लेषण गर्दै काठमाडौं उपत्यकामा २८ गते शनिबार बिहान सम्म कर्फ्यु आदेश जारी गरेको छ ।