त्रिदेशीय टी-२०आई अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेलमा स्कटल्याण्ड नेपालसंग २ विकेटले पराजित
खेलकुद
४ असार, काठमाडौं । नेपालले स्कटल्याण्डमा भैरहेको त्रिदेशीय टी-२०आई अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेलमा हिजो घरेलु टोली स्कटल्याण्डलाई २ विकेटले पराजित गरेको छ।
बलरहरुलाई अनुकुल भएको खेलमा ९८ रनको सानो लक्ष्य पुरा गर्न नेपाललाई ८ विकेटको क्षतिमा १९.५ बल सम्म कडा मेहनत गर्नु पर्यो।
नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ३० रन, दिपेन्द्रसिंह ऐरीले १४, बसिर अहमदले १३, किरण ठगुन्नाले १० रन, लोकेश बमले ९, रोहित पौडेलले ७ तथा अनिल साह, रुपेश सिंह र करण केसीले समान ३ रन बनाए ।
टस जितेर फिल्डिङ रोजेको नेपालको लागी बलिङ्ग तर्फ सन्दीप लामिछानेले ४ ओभरमा ११ रन दिएर ४ विकेट, करण केसी र दिपेन्द्रसिंह ऐरीले समान २ विकेट र ललित राजवंशीले १ विकेट लिए ।
स्कटल्यान्डका लागि दोहोरो अंकको रन लिने खेलाडीहरुमा माइकल लिस्क ४६ रन, म्याथ्यु क्रस १५ तथा ब्रान्डन म्याकमुलेन १० रन थिए भने बलिङमा मुख्य रुपमा सरिफ र लिस्कले समान २ विकेट लिए।
यसअघिको पहिलो खेलमा नेपालले नेदरल्याण्ड्ससँग तेस्रो सुपर ओभरमा गएर पराजित भएको थियो । नेपालले अब आफ्नो तेस्रो खेल भोली बिहीबार नेदरल्याण्ड्ससँग खेल्नेछ ।








