नेपाल र यूएई बिचको फाइनल खेल वर्षाले प्रभावित भएपछि आजकै अवस्थामा बांकि खेल भोलि मंगलबार हुने

खेलकुद

काठमाडौंमा जारी एसीसी प्रिमियर कप क्रिकेट अन्तर्गतको आज भएको नेपाल र यूएई बिचको फाइनल खेल वर्षाले प्रभावित भएपछि आजकै अवस्थामा बांकि खेल भोलि मंगलबार हुने भएको छ।

कीर्तिपुर क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङमा उत्रिएको यूएईले १७ ओभरमा ५ विकेट गुमाएर ६० बनाएर खेलिरहँदा पहिलो पटक वर्षा सुरु भइ खेल रोकिएको थियो।

दोश्रो पटक यूएईले २७.३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाएको अवस्थामा वर्षा सुरु भइ रोकिएको खेल बर्षा नरोकिएपछि आजलाई स्थगित गर्दै आजकै अवस्थामा बांकि खेल भोलि मंगलबार हुने भएको छ ।

यूएईका लागि आशिफले ४६, आर्यन लाक्राले १३, मोहम्मद वसीमले ११ तथा बसील हमीदले १० रन बनाए।
नेपालका ललितनारायण राजवंशीले ३, करण केसी र सन्दीप लामिछानेले २ , २ तथा सोमपाल कामी र गुलसन झाले १ , १ विकेट लिए।

यस अघि दुबै सेमिफाइनल खेलहरु पनि वर्षाले प्रभावित भए पछि नेपाल समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको आधारमा कुवेतलाई रोक्दै फाइनलमा पुगेको हो भने यूएईले डीएलएस प्रणालीका आधारमा ओमानलाई २ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो।

तेस्रो स्थानका लागि हिजो आइतबार कुवेत र ओमान बिच भएको खेलमा ओमान बिजयी भएको छ। उक्त खेल पनि वर्षाले प्रभावित भएको थियो ।