निर्वाचनको सबै आवश्यक तयारी पुरा भएकोले निर्धक्कसँग भोट हाल्न सर्वसाधारणलाई प्रमुख निर्वाचन आयुक्तको अपिल

निर्वाचन

निर्वाचन आयोगमा शनिबार दिउँसो आयोजित पत्रकार सम्मेलनमा निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भोलि हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सबै आवश्यक तयारी पुरा भएकोले  निर्धक्कसँग भोट हाल्न सर्वसाधारणलाई अपिल गरेका छन् । उनले सुरक्षा लगायत सबै प्रबन्ध र तयारी पुरा भएकोले  डर, त्रास र धम्कीमुक्त भई  निर्धक्कसँग भोलि बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदाताले आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गरेका हुन् ।

उनले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र भयमुक्त बनाउनका लागि सहयोग गर्न सबै राजनीतिक दल, नागरिक समाज, पेशाकर्मी र सर्वसाधारणलाई अनुरोध गरेका छन् । निर्वाचन आचारसंहिता कार्यान्वयनका लागि पनि आयोगले अनुगमन टोली र सुरक्षाकर्मी परिचालन गरिएको तथा मतदान अधिकृत, मतदानस्थलमा खटिएका कर्मचारी र मतदानमा खटिएका सुरक्षाकर्मीलाई अवाञ्छित गतिविधि हुन नदिन निर्देशन दिइएको जनाएका छन् ।