अविरल वर्षा र बाढी-पहिरोले ठुलो धनजनको क्षति

शुक्रबार बिहानसम्म ३१ जनाको मृत्यु, दर्जनौं घाइते र बेपत्ता

 

देशैभरी भएको अविरल वर्षासँगै आएको बाढी-पहिरोले ठुलो धनजनको क्षति भएको छ ।

 

शुक्रबार बिहानसम्म ३१ जनाको मृत्यु, दर्जनौं घाइते र बेपत्ता भएका छन् । नेपाल सरकार गृह मन्त्रालयको राष्ट्रिय आपतालीन कार्यसञ्चालन केन्द्रका अनुसार म्याग्दीको धौलागिरी र मालिका गाउँपालिकामा आएको पहिरोमा परी १० जनाको मृत्यु भएको छ भने १२ जना बेपत्ता छन् ।

 

त्यस्तै लमजुङको वेशीसहर नगरपालिका-७ मा आएको पहिरोमा परी तीन जनाको मृत्यु भएको छ भने तीन जनता घाइते भएका छन् । यस सँगै
कास्कीका विभिन्न स्थानमा गएको पहिरोमा परी ७ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। पर्वतको दुर्लुङमा गएको पहिरोमा परी ९ जनाको मृत्यु भएको छ । यसबाहेक रूकुम पश्चिमको आठबिसकोट- ३ मा आएको पहिरोमा २ जनाको मृत्यु भएको छ भने १ घाइते भएका छन् ।

 

अर्बिरल बर्षा सँगै गएको पहिरोले पृथ्वी राजमार्गको धादिङ बेनीघाट लगायत ठाउँ ठाउँमा राजमार्गहरू अवरूद्ध भएका छन् । यस सँगै तराईका जिल्लामा नदीहरूमा पानीको सतहमा बढिरहेको छ ।

 

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले बिहीबारदेखि सक्रिय मनसुन सोमबारसम्म कायम रहने भएको छ । विशेष गरी प्रदेश १, २, वाग्मती र गण्डकी प्रदेशमा धेरै वर्षा हुने मौसमविद्को अनुमान रहेको छ।

 

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकामा ९.८ मिलिमिटर, वीरेन्द्रनगरमा २३.५, सिमरामा ११.२, नेपालगञ्जमा १०.७ र पोखरामा १३६ .७ मिलिमिटर वर्षा भएको छ।