नेकपामा यसरी फाट्यो बादल, यसरी बर्सियो पानी
सन्दर्भ गृहमन्त्री रामबहादुर थापा (बादल) को हो !
यो हो, सिनेमाको अन्तिममा गुण्डालाई हिरोले जसरी पनि सिध्याउँछ भन्ने फर्मुलाजस्तो नेपाली राजनीतिमा हालै एउटा ‘बादल’ फाटेको कथा ।
मान्छे तान्न, अन्तरविरोधमा खेल्न र आफू हावी हुन खप्पिस मानिने प्रचण्डलाई पनि माथ खुवाएर केपी ओलीले पूर्वमाओवादी केन्द्रका दुई नेतालाई आफूतिर तान्नुभयो । यसरी कि, ऐन–मौकामा तिनले चटक्कै साथ छाडिदिए । प्रचण्डभन्दा पनि उग्र रुपमा केपीको विरोधी भएर निस्किएका बा ।
सन्दर्भ गृहमन्त्री रामबहादुर थापा (बादल) को हो । मन्त्री भएपछिका दुई वर्षमा पूर्वमाओवादीभित्र आन्तरिक सन्दर्भहरु चल्दा पनि बादलले प्रचण्डलाई साथ दिएनन् । त्यसैले पछिल्लो हेरफेरमा प्रचण्डले हटाउनका निम्ति कुरा राख्दा प्रधानमन्त्रीले मान्नुभएन । बरु, सुनाउनुभयो, ‘तपाईंलाई त प्रचण्डले हटाउनु भनेका छन् । मलाई साथ दिनुहुन्छ भने हटाउँदिन ।’
०६८ सालमा मोहन वैद्य, विप्लवहरुसँग माओवादी फुटाएर गएका बादल ०७४ को निर्वाचनपूर्व फर्किंदा उनीसँग १३ जना घाघडान नेता थिए, अहिले पनि छन् – देव गुरुङ, पम्फा भुषाल, सूर्यप्रसाद सुवेदी (पथिक), हितमान शाक्य, सरस्वती पोखरेल (१ नं. प्रदेशकी उपसभामुख), महेश्वर दाहाल, अमृता थापा, यशोदा गुरुङ सुवेदी, ५ नं. प्रदेशका सभामुख पूर्ण घर्ती, त्यहींकै आन्तरिक मामिला मन्त्री कुलप्रसाद केसीसहित बादलसहित यी १३ जनाले पार्टी एकताअघि प्रचण्डलाई भेटे । प्रचण्डले पम्फाजीलाई प्रवक्तालगायत ‘पार्टी छाडेर जाँदा तपाईंहरु जे–जे पदमा हुनुहुन्थ्यो, त्यही–त्यही पद दिन्छु । तर, एउटा शर्त छ, मेरो नेतृत्वलाई च्यालेञ्ज गर्न पाइँदैन । मैले त वैद्य, बाबुराम छोडेँ । मलाई ठीकै छ । पार्टीभित्र विचार राख्न पाइन्छ, छलफलमा भाग लिन पाइन्छ । तर, निर्णायक घडीमा मलाई साथ दिनुपर्छ ।’ भन्नुभयो ।
बादलहरुसँग यी शर्त मान्नुको विकल्प थिएन । किनभने, उता पार्टी छाडेर हिँडिसकियो, यता शर्त छ । उता फर्किनुभन्दा यतैको शर्त स्वीकारे, एकता भयो । नत्र, माले खोल्ने ऋषि कट्टेल र सिपी मैनालीहरु झैं राजनीतिक ढाक्रे हुनुपर्ने खतरा थियो ।
अहिले बादलले प्रचण्डका कुराहरु नमान्ने, केपीकै गुणगान गाउने भएपछि प्रचण्डले बादलबाहेक १२ जनालाई खुमलटार बोलाएर २ दिन लगातार छलफल गर्नुभयो । १२ भाइले ‘हामी तपाईंलाई भेट्न आउने, छोरी गंगालाई भेटेर जानुपर्ने ?’ यीसहित भएभरका गुनासो राखे । कतिपयमा प्रचण्डले क्षमा माग्नुभयो । कतिपयमा जवाफ दिनुभयो । र, अन्तिममा सोध्नुभयो, ‘अब भन्नुस्– बादल तपाईंहरुसँग रहने कि केपीसँग जाने ? यदि बादलले हामीलाई साथ नदिने हो भने तपाईंहरुले केपीलाई रोज्ने कि मलाई ?’
यी १२ जना फेरि पुगे, बादलकहाँ । प्रचण्डले सोधेका प्रश्न बादलसमक्ष पनि राखिरहे । सबै कुरा सुनिसकेपछि र सोधेका कुराको जवाफ दिनुपर्ने भएपछि बादलले भने, ‘केपी नोकरशाही प्रवृत्तिका रहेछन् । यिनलाई हामीजस्ताले धान्न सक्ने रहेनछौँ । कि, दास भएर, जीहजुरी गरेर, २४ घण्टा दशऔँली तेस्र्याएर उभिनुप¥यो । त्यसो गर्न सकिन्नँ । त्यसैले म कहाँ केपीलाई रोज्छु त ? जे–जसो भए पनि हाम्रो नेता त प्रचण्डै हुन् नि ! हामीले त्यतै रोज्ने हो !’
यसरी बल्लतल्ल बादल फाट्यो । प्रतीक्षा रह्यो, अब यो फाटेको बादलले कस्तो वर्षा ल्याउँछ ? सिमसिमे कि मुसलधारे ? अन्तरविरोध बाक्लिँदै गएपछि ललितपुरको धोवीघाटस्थित अगेनो लाउञ्जमा गत बुधबार माधव–प्रचण्ड पक्षधर नेता र मन्त्रीहरु जुटे । अनि, बादलको वर्षा त्यहाँ देखियो । उनले भने, ‘केपी ओलीमा पार्टी र सरकार चलाउने ल्याकतमै समस्या रहेछ । सोच्ने दृष्टिकोणमै समस्या देखेँ । गृहमन्त्री भएको हुनाले मैले विश्वासको वातावरणमा काम गरेको हुँ । दिनदिनै प्रधानमन्त्रीसँग राय बझाएर काम गर्न पनि सकिँदैन थियो । त्यसैले म यताको कि उताको भन्ने प¥यो होला । साथीहरुसँग सल्लाह भयो । कुराकानी हुँदा अबचाहिँ निर्णायक पोजिसनमा जानुपर्छ भन्ने भयो । त्यसैले म मेरै मौलिकताअनुसारको लाइनमा आएँ ।’ उनले यसो भनेपछि हलमा गुञ्जिएको ताली पार्किङसम्म प्रष्ट सुनियो ।
– जनआस्थाबाट ।








