कोरोना भर्सेस के.पि सरकार

भ्यू टावरबाट सुखि नेपालीको घरघरमा ग्यासको पाइप लाइनका दृश्यावलोकन गर्ने लक्ष्यका साथ अघि बढेको के.पि सरकारको गतिलाई कोरोना भाइरसले झ्याप्पै ब्रेक लगाउन बाध्य बनायो !

 

मुलुकमा पानिजहाज र रेल मार्फत समृद्धि ल्याउने अनि भ्यू टावरबाट सुखि नेपालीको घरघरमा ग्यासको पाइप लाइनका दृश्यावलोकन गर्ने लक्ष्यका साथ अघि बढेको यो ऐतिहासिक सरकारको गतिलाई कोरोना भाइरसले झ्याप्पै ब्रेक लगाउन बाध्य बनायो। एक दुई महिना मात्र यो भाइरस यता नआईदिएको भए, थुप्रै समृद्धि आईसकेको हुन्थ्यो। पानिजहाजको टिकट काउन्टर खुलिसकेको हुन्थ्यो।

 

दुनियालाई कोरोनाको थुप्रै प्रभाव होला तर नेपाललाई भने इतिहासमै प्राप्त समृद्धिको यो अवसर गुम्ने खतरा छ। त्यसैले फेरी अर्को चुनावमा यहि नेतृत्वलाई दुई तिहाई बहुमतको सरकार बनाउने अवसर दिनुपर्ने अवस्था आउन सक्छ।

 

मानिसहरु कर्कश धुनहरु बजाउदैछन – यो सरकारले कोरोना विरुद्ध लड्न सकेन। तिनीहरुलाई मधुर धुन मनै पर्दैन। आखिर के गरेको छैन, सरकारले ?

 

यति वेला विकसित मुलुकहरु कोरोना महामारीले अर्थतन्त्र धरासायी हुने भयो भन्दै चिन्तित छन। तर हाम्रो सरकारले सुरुमै कोरोना फ्रि को प्रचार गरेर पर्यटक भित्र्याउने कुरा गरेकै हो। ककर्श ध्वनि धरै बजेपछि पो त्यो कार्यक्रम स्थगित गर्नुपर्‍यो त।

 

मानिसहरुले लकडाउन एक-एक हप्ता गर्दै लम्ब्याउनु सरकारको अदुरदर्शिता भन्दा रहेछन। एक हप्ता लकडाउन गर्दा त गाँउ र्फकिनेको त्यात्रो भिड देखियो। त्यसैले धेरै भिड नहुस भनेर, भिड कम गर्नका लागि नै एक-एक हप्ता गर्दै लम्ब्याउदै लगिएको हो। कुरा बुझौ न।

 

त्यस्तै स्वास्थ्य सामाग्री खरिदमा सरकारले ऐतिहासिक सफलता पाएको छ। एकातिर ओम्नि ग्रुपको पाँच करोड धरौटी जफत गरी राजश्व बढाउने कार्य गरेको छ भने अर्को तिर अख्तियारलाई अनुसन्धान गर्ने झन्झट नहोस् भनेरै स्वास्थ्य सामाग्री खरिद गर्ने जिम्मा सेनालाई दिएको छ। यसरी सरकारले साह्रा शक्ति कोरोना रोकथाम तथा नियन्त्रणमा लगाएको छ।

 

यसै बीच प्रतिपक्ष दलका सांसदलाई जनकपुर देखि उठाउन सरकारी शक्तिको दुरुपयोग नहोस भन्ने हेक्का राख्दै रिटार्यड प्रहरी प्रमुखको प्रयोग गरिएको छ। तसर्थ, यो सरकार अवकाश प्राप्त विज्ञहरुको पनि भरपुर उपयोग गर्ने पक्षमा देखिन्छ।

 

अर्को तर्फ मजदुरहरु पैदल हिडेका र सडकमा अलपत्र परे भन्ने जुन कुरा छ – त्यो त सरकारको एउटा रणनिति नै हो नि। लकडाउनका बेला गाडीमा राखेर घर पुर्‍याईदिने हो भने त जो सुकै पनि गइहाल्छन् नि। तसर्थ, बास्तविक रुपमा अप्ठेरोमा परेका मानिसहरुको पहिचान गर्न यो वैज्ञानिक विधि अपनाइएको हो। फेरी एक दुई दिन नहिडेका मानिसले उद्धरको अनुभुती कसरी गर्न सक्छन? आखिर मान्छे अफ्रिका देखी हिंडेरै संसार भरी छरिएको हो भन्छन। संघियताको औचित्य पुष्टि गर्न पनि यो विधि सान्दर्भिक देखिएको छ।

 

अब कुरा गरौ सिमामा अलपत्र नागरिकको बारेमा। दुःख परेको वेला आफ्नै देश चाहिन्छ, त्यसैले भरसक यहि दुःख गर्नु पर्ने रहेछ। परदेश धाउनु उचित होइन, भन्ने राष्ट्रबादी चेत घुसाउन सिमानामा आफ्नै नागरिक रोक्ने यो अभियान सफल भएको छ।

 

हाल सम्म सरकारले कोरोना विरुद्धको लडाईमा देखाएको सफलताले देशमा मजबुत सरकार हुनुको आभाष गराएको छ। तसर्थ, स्थीर सरकार भयो भने माफियाको कब्जामा भए पनि, पुरानै दल, पुरानै टुक्का, पुरानै नेता भएपनि सुख र समृद्धि दुरको विषय होइन भन्ने पुष्टि गरेको छ।