कोरोना संक्रमणको आशंकामा “जर्मन चान्स्लर मेर्केल” क्वारेन्टाइनमा ।

कोरोना बिरुद्द जर्मनीमा नयाँ नियम - दुई भन्दा बढी ब्यक्तीको भेटमा प्रतिबन्द ।

जर्मन सरकारका प्रवक्ता स्टेफन साइबेर्टका अनुसार जर्मन चान्स्लर अङेला मेर्केललाई कोरोना भाईरस संक्रमणको आशंकामा क्वारेन्टाइनमा राखिने भएको छ।

 

जर्मनीमा तिब्र गतीमा फैलदै गरेको कोरोना भाईरस संक्रमण नियन्त्रणका निम्ती लागु गरिएको नयाँ  नियमबारे चान्स्लर मेर्केलले आईतवार बेलुका सार्वजनिक जानकारी गराएकी थिईन। त्यस लगत्तै चान्सलर मेर्केलले गत शुक्रबार न्युमोकोकल निवारक खोपका निम्ती भेटेको चिकित्सकलाई कोरोना भाईरसको संक्रमण पोजिटिभ देखिएको जानकारी चान्स्लर मेर्केललाई गराईएको थियो। उक्त जानकारी पाउनासाथ चान्स्लर मेर्केल स्वयमले क्वारेन्टाइनमा बस्ने निर्णय गरेकी हुन।

 

प्रवक्ता साइबेर्टका अनुसार क्वारेन्टाइनका दौरान चान्स्लर मेर्केलको नियमित स्वास्थ्य परिक्षण गरिने छ भने चान्स्लर मेर्केलले आफ्नो नियमित जिम्मेवारी क्वारेन्टाइनबाटै निर्वाह गर्ने छिन।

 

चान्स्लर मेर्केलले आईतवार राष्ट्रका नाममा सम्बोधन गर्दै आउदो दुई हप्ताका लागि लागु नयाँ  नियमबारे जानकारी गराएकी थिइन।  चान्स्लर मेर्केल, राष्ट्रपती फ्र्यान्क वाल्टर स्टाइनमाएर र सबै १६ जर्मन प्रान्तका प्रमुखहरु बिचको सहमतीमा लागु नयाँ  नियम अनुसार सार्वजनिक रुपमा दुई भन्दा बढी ब्यक्तीको भेटमा प्रतिबन्द लगाईएको छ । यस बाहेक

– मानिसहरु बिच २ मिटर भन्दा बढीको दुरी कायम गर्न नसकिने रेस्टुरेन्ट, क्याफे, शैलुन लगायतका सम्पूर्ण सेवा हरु बन्द हुनेछन

– परिवारका सदस्या वा सँगै बसोबास गर्ने बाहेक हरेकले सार्वजनिक रुपमा एक अर्का बिच न्युनतम १,५ मिटरको दुरी कायम गर्नु पर्नेछ

– कम्पनीहरुले आफ्ना कामदारका निम्ती नियमअनुसार हाइजिनको ब्यवस्था गर्नु पर्नेछ

– नियमित काममा जान आउन, आवश्यक हुँदा अरुलाई सहयोग गर्न र ब्यक्तिगत अभ्यास गर्न कुनै रोक भने  हुने छैन

 

चान्स्लर मेर्केलले उल्लेखित प्रतिबन्दहरु सुझाब नभएर वाध्यकारी नियम भएको जानकारी पनि गराइन।

 

आईतवार बेलुका सम्मको तथ्यान्कका अनुसार जर्मनीमा कोरोना भाईरसबाट लगभग २५००० मानिस संक्रमित भएका छन, जसमा ९४ जनाको मृत्‍यु भएको छ भने २६६ जना उपचार पस्चात ठीक भएका छन। गत २४ घण्टामा जर्मनीमा लगभग २५०० नयाँ कोरोना संक्रमित भेटिएका छन जुन अमेरिका (८,१४९), इटाली (५,५६०) र स्पेन (३,१०७) पछीको उच्च हो।