युरोपमा कोरोना संक्रमण – जर्मनीको एक अस्पतालबाट चोरहरुले हजारौ मास्क चोरे !

जर्मनीको कोल्न शहरको एक अस्पतालबाट ५०,००० मास्क चोरी

चोरहरुले जर्मनीको “कोल्न” शहरको एक अस्पतालबाट ५०,००० भन्दा धेरै मास्क चोरी गरेका छन। बिभिन्न अस्पताल, श्वास्थ केन्द्र र क्लिनिकहरुका निम्ती भनेर राखिएका मास्कहरु अस्पतालको समान भन्डारण गर्ने लजिस्टिक केन्द्रबाट उक्त चोरी भएको प्रहरीले जानकारी गराएको छ। अस्पातलमा कार्यरत एक कामदारले सोमबार बिहान उक्त चोरी भएको थाह हुनासाथ सम्बन्धित निकाय र प्रहरीलाई खबर गरेका थिए। लगत्तै कोल्न शहरको क्राईसिस म्यानेजमेन्ट टिमले तत्काल अस्पताल, श्वास्थ केन्द्र र क्लिनिकहरुका लागी अत्यन्त आवश्यक मास्क लगायत अन्य बस्तु र उपकरणहरुको भन्डारणलाई नियन्त्रण लिदै सुरक्षित गरेको छ।

“यो नयाँ र भिन्न खाले चोरी भएको” अस्पतालका प्रवक्ताले संचारमाध्यमहरुलाई जानकारी गराएका छन। प्रवक्ताका अनुसार “चोरी भएका बस्तुहरु सामान्यतया केही युरो सेन्टमा बजारमा पाइने भएता पनि कोरोना संक्रमणका कारण अहिले तिनको बजारमा माग र मुल्य बढेको छ”। ठुलो मात्रामा भएको यस चोरीका बावजुद कोल्न शहरका कुनै पनि अस्पताल, श्वास्थ केन्द्र र क्लिनिकहरुमा अत्यावस्यक बस्तुहरुको कमी नहुने पनि प्रभाक्ताले जानकारी गराए ।

जर्मनीका बिभिन्न क्षेत्रका अन्य अस्पतालहरुले पनि मास्क लगायतका सामाग्रीहरुको चोरी हुन थालेको सार्वजनिक जानकारी गराएका छन। जर्मन प्रहरीले पनि कोरोना भाईरस सन्क्रमण सँग सम्बन्धित अन्य थुप्रै चोरीहरु भएको जनाएको छ।

जर्मनीको “लोवर साक्सोनी” प्रान्तमा मार्चको पहिलो हप्ता १२०० मास्कहरु चोरी भएको र प्रहरीको अनुसन्धान जारी रहेको छ। यस बाहेक “नर्थ राइन वेष्टफालेन” प्रान्त ( ५०,००० मास्क चोरी भएको कोल्न सहर रहेको प्रान्त) मै अन्य अस्पतालहरुबाट सयौ बोटल स्यानिटाइजरहरु चोरी भएको समाचारहरु आएका छन। राजधानी बर्लिनमा रहेको बिख्यात “च्यारिटे अस्पताल” को “भिर्चोव क्लिनिक” को बालबालिका भिभागबाट पनि ठुलो सन्ख्यामा डिसइन्फेक्टेन्ट, श्वासप्रश्वास सम्बन्धित सामाग्री, श्वास्थकर्मीले लगाउने पन्जा, कोट लगायत अन्य बस्तुहरुको चोरी भएको छ जहाँ कम उमेरका क्यान्सर बिरामीहरुको उपचार हुने गर्दछ। उक्त अस्पतालका निम्ती मास्क लिएर आउँदै गरेको ट्रक चोरहरुको आक्रमणको केन्द्र बने लगत्तै अहिले मास्कहरुको कमी भएको पनि अस्पातलले जनाएको छ।