नवनिर्वाचित सभामुख सापकोटाले पद तथा गोपनियताको सपथ लिए
काठमाडौं माघ १३ । सभामुख पदमा निर्विरोध निर्वाचित भएका नेकपाका सांसद अग्निप्रसाद सापकोटाले पद तथा गोपनियताको सपथ लिएका छन् । राष्ट्रपति कार्यालयमा आज आयोजित एक समारोहबीच सभामुख सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पद तथा गोपनीयताको सपथ लिएका हुन् ।
उक्त समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतको उपस्थिति रहेको थियो ।
यस अघि माघ १२ गते बसेको प्रतिनिधिसभाको बैठकबाट सभामुखमा सापकोटा निर्विरोध निर्वाचित भएका थिए । नेकपाका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ्गले अग्निप्रसाद सापकोटालाई सभामुख पदमा प्रस्ताव गरेका थिए भने सांसद देव प्रसाद गुरुङ्ग, ओनसरी घर्ती र लक्ष्मण लाल कर्णको समर्थन थियो ।








