भारतीय हस्तक्षेप बिरुद्ध प्रतिरोधको माग गर्दै जर्मनीमा रहेका नेपालीद्वारा नेपाल सरकारलाई ज्ञापन पत्र ।
भारतीय हस्तक्षेपको तत्काल कडा प्रतिरोध गर्न माग गर्दै बर्लिनमा रहेको नेपाली दुताबास मार्फत नेपाल सरकारलाई एनआरएनए जर्मनी, नेपाली जनप्रगतिशिल मोर्चा जर्मनी र प्रवासी नेपाली एकता मन्च जर्मनी द्वारा संयुक्त रुपमा दवाब एवम सुझाबका रुपमा ज्ञापन पत्र बुझाइएको छ। उक्त संगठनका प्रतिनिधिहरुको एक टोलीले बर्लिन स्थित नेपाली दुताबासमा आज राजदुत श्री रमेश प्रसाद खनाल मार्फत उक्त ज्ञापन पत्र बुझाएका हुन।
ज्ञापन पत्रमा – भारत सरकारद्वारा हालै जारी गरिएको भारतीय राजनीतिक नक्साले नेपाली सार्वभौमिकता माथि बिस्तारबादी नाङ्गो प्रहार गरेको तर भारतको यस बिस्तारबादी चरित्रका बिरुद्ध देश भित्र र बाहिरका सम्पुर्ण देशभक्त नेपाली जनता एक ढिक्का भएर जनस्तरमा स्वस्फुर्त प्रतिरोध हुँदा पनि नेपाल सरकारले भारतीय अतिक्रमण बिरुद्ध आवश्यक कडा पहल गरेको प्रमाण नदेखिनु नेपाली जनताका निम्ती अनपेक्षित रहेको उल्लेख गरिएको छ। साथै नेपाल सरकार एउटा बक्तब्यमा मात्रै सिमित हुन नहुने जनाउदै नेपालको कूटनीतिक प्रयासलाई पनि भारतले बेवास्ता गरी रहेको अवस्थामा, यस मुद्धालाई आवश्यकता अनुसार अन्तर्राष्ट्रियकरण गर्न ढिलो गर्न नहुने सुझाब पनि समेटिएको छ। नेपालमाथिको भारतीय अतिक्रमणको सम्बन्धमा नेपाली उच्च राजनीतिक तहबाट दोधारे अभिब्यक्ती सुनिनु मुलुकका निम्ती दुर्भाग्यपूर्ण हुनुका साथै कतै राज्यका महत्वपूर्ण अंगहरु भारतीय प्रभावमा परेका त छैनन भन्ने आशङ्का पनि ब्यक्त गरिएको छ। अतिक्रमित नेपाली भूभागबाट तुरुन्त भारतीय सुरक्षाकर्मी हटाउन र नेपाली भूभाग भारतीय नियन्त्रणबाट फिर्ता लिन आवश्यक सबै प्रकारका पहल तत्काल सुरु गर्दै नेपाल र भारत बिच रहेका सम्पूर्ण असमान सन्धिहरुको खारेजीको पनि माग गरिएको छ।








