चैत ८ गतेदेखि दक्षिण कोरियाको वैदेशिक रोजगारिको लागि ईपीएस भाषा परीक्षाको आवेदन खुल्ला हुने
काठमाडौं । आउँदो चैत ८ गतेदेखि दक्षिण कोरियाको वैदेशिक रोजगारिको लागि ईपीएस भाषा परीक्षाको आवेदन खुल्ला हुने भएको छ । दक्षिण कोरियाले सन् २०१९ का लागि नेपाली श्रमिकको कोटा निर्धारण गरेर पठाएपछि मंगलबार ईपीएस कोरिया शाखाले सूचना जारी गर्दै आगामी चैत ८ गतेदेखि १७ गतेसम्म भाषा परीक्षाका लागि फारम भर्ने मिति तय गरिएको जनाएको छ ।
भाषा परीक्षा आउँदो २०७६ जेठ २५ र २६ गते सञ्चालन हुनेछ । पोखरा र काठमाडौँमा परीक्षा सञ्चालन भए पनि परीक्षास्थल र परीक्षाको समय जेठ १९ गते तय गरिने ईपीएस शाखाले जनाएको छ ।एचआरडी कोरियाले सन् २०१९ का लागि १० हजार ५० जनाको कोटा निर्धारण गरेर पठाएको छ। जसमा उत्पादन मुलक क्षेत्रमा ७ हजार ५० र कृषि तथा पशुपालनको क्षेत्रमा तीन हजार जनाको कोटा निर्धारण गरिएको छ । एक व्यक्तिले एउटा मात्रै क्षेत्रमा आवेदन फारम भर्न सकिनेछ । उत्पादनमुलक क्षेत्रमा तीन उपक्षेत्र र कृषितर्फ दुुई मध्ये एक उपक्षेत्र छनोट गर्नुपर्ने छ ।
‘भाषा परीक्षामा उत्तिर्ण परीक्षार्थीले दोश्रो चरणमा स्किल टेस्ट र कम्पेटेन्सी टेस्टमा सहभागी हुनुपर्ने छ । त्यसमा सफल भएमात्रै रोजगार आवेदन फारम भर्न पाउने छन् । भाषा परीक्षाको नतिजा सार्वजनिक भएपछि मात्रै यसमा सहभागी हुनेहरुको विपवरण प्रकाशित हुनेछ । भाषा परीक्षामा उत्तिर्ण भए पनि स्वास्थ्य परीक्षणमा असफल र प्रहरी रिपोर्ट प्रतिकुल हुनेले रोजगार आवेदन फारम भर्न पाउने छैनन् ।
परीक्षा फारम भर्न २४ डलर लाग्नेछ । जुन ग्लोबल आईएमई बैंकका शाखामा आईएमई पे तथा ई सेवा मार्फत जम्मा गर्नुपर्नेछ । भाषा परीक्षाको नतिजा २०७६ असार १३ गते प्रकाशित हुनेछ। परीक्षार्थीले आफूले प्राप्त गरेको प्राप्ताङ्कको जानकारी ईपीएसको वेवसाइडबाट हेर्न सक्नेछन् । तर कोरियामा कामदारको माग अनुसार उत्तीर्ण संख्या थपघट हुनसक्ने ईपीएस शाखाले जनाएको छ ।








