पूर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको निधन
काठमाडौं । पूर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको निधन भएको छ । ८२ वर्षीय नेता अधिकारीको काठमाडौं स्थित् हृयाम्स अस्पतालमा उपचारका क्रममा शनिबार राति निधन भएको हो । अधिकारीका श्रीमती र तीन छोरी छन् । उनी पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीका सहोदर भाइ हुन् ।
भरतमोहन अधिकारी अर्थमन्त्री हुँदा बजेटमा ‘आफ्नो गाउँ आफैं बनाउँ’ भनेर हरेक गाविसलाई बजेट छुट्याइएको तथा बुढाबुढीलाई पहिलो पटक बृद्धभत्ताको शुरुवात गरिएको थियो ।अधिकारीले उपप्रधानमन्त्री,अर्थमन्त्री, यातायात तथा निर्माणमन्त्री, सांसद, संसदीय दलको उपनेता, प्रमुख सचेतक लगायतका जिम्मेवारी बहन गरे ।२०७१ सालको एमालेको नवौं महाधिवेशनले ७० वर्षे उमेरहद कायम गरेपछि उनी सक्रिय राजनीतिबाट अवकाश लिएका थिए ।








