आदिम मान्छे
साहित्य
आदिम मान्छे
बिहान सखारै यौटा आदिम प्रतिबिम्ब,
लामो कपाल
झुस्स दारी जुँगा
बनबासी भेस
ब्यग्र-आतुर हुँदै आधुनिक मानब बस्ति छिचल्दै छ
रित्तो पोल्टो बोकेर, भुस्याहा कुकुरहरुको भुकाईसंगै भाग्दै छिटो छिटो सहरतिर लम्किरकेको छ,
बेलुकीपख पुनः सहरतिरबाट लखेटिन्दै उही आकृति आइरहेको देखिन्छ
पोल्टा भरि केहीबोकेको खोच्याउन्दै दौडिरहेको देखिन्छ
आधुनिक बस्तिका कुकुरहरु भुक्दै पछाउन्दैछन्
केटाकेटी मात्र नभई तन्नेरीहरु पनि उसलाई लखेट्दै ढुंगा बर्साई रहेका छन्
आतिंदै भोक र तिर्खाले ब्याकुल हुँदै भागी रहेको छ उ
जिउ नै गलेर थकित भयो
तै पनि बिसाउन पाएको छैन, भाग्दैछ लखेटिन्दै छ
यौटाले हानेको ढुङ्गो उसको पुर्पुरोको पछिल्तिर बज्रन पुग्छ
संसारनै रिंगाएर आँखा भरि कालो मडारीन थाल्छ
नुनिलो खर्सो थुक घुटुक्क निल्दै
डङरंग पछारिन्छ
एक्लो र निरिह उ रगताम्य हुँदै आधुनिक मानब बस्तिमा पछारिन्छ
उसका पोल्टाबाट नुन र तेल संगै खसेका पुस्तकहरु एत्रतत्र छरिदै रगतको आहालमा डुबछन
क्रमश: मुनामदन, सिरिसको फूल, अलिखित, दुर्भिक्ष, पागलबस्ती,
बहुलाहा बस्ती………………









